काठमाडौं । दक्षिण अफ्रिकामा जारी आईसिसी यु-१९ विश्वकपको दोस्रो चरणमा नेपाल प्रवेश गरेको छ । समूह चरणको अन्तिम खेलमा शुक्रबार नेपालले अफगानिस्तानलाई हराउँदै विश्वकपको सुपर सिक्स चरणमा प्रवेश गरेको छ ।
अफगानिस्तानले दिएको १४६ रन नेपालले ४४.४ ओभरमा ९ विकेटमा पुरा गरेको छ । नेपालका लागि कप्तान देव खनालले सर्वाधिक ५८ रनको अर्धशतकीय इनिङ खेले । उनले ८९ बल खेल्दै ७ चौकाको मद्दतले ५८ रन बनाएका हुन् ।
नेपालले पहिलो दुई ओभरमा नै पहिलो दुई विकेट लिएको थियो । पहिलो ओभरमा गुलशन झाको चौथो बलमा नुमान शाह शुन्यमा आकाश डुम्रेको हातबाट क्याच आउट हुन पुगे । यस्तै दोस्रो ओभरमा आकाश चन्दको बलमा खालिद ताइनवाल विकेटकिपर बिपिन रावलको हातबाट क्याच आउट भए ।
समूह डी मा रहेको नेपाल समुहमा तेस्रो रहँदै सुपर सिक्समा पुग्न सफल भएको हो । सुपर सिक्समा नेपालले समूह ए का शीर्ष तीन टोलीविरुद्ध खेल्ने छ । सो समूहबाट भारत सुपर सिक्समा पुगिसकेको छ भने बाँकी दुई टोली बंगलादेश र आयरल्याण्ड रहने प्रबल सम्भावना रहेको छ ।
सुपर सिक्समा नेपालको समुहबाट छनोट भएका टोली विरुद्धको अंक र रनरेट पनि गनिने छ । नेपालले न्युजिल्याण्ड र पाकिस्तान विरुद्ध हार बेहोरेको हुँदा नेपालको सुपर सिक्सको सुरुवातमा कुनै अंक रहने छैन ।
FACEBOOK COMMENTS