काठमाडौं । कुमारी बैंक लिमिटेड र नेपालस्थित प्रविधि कम्पनी कुराकानी अनलाइन प्रालि (निम्बज) बीच ग्राहकलाई थप नवीन तथा डिजिटल सेवा उपलब्ध गराउने उद्देश्यले सहकार्य सम्झौता (एमओयू) सम्पन्न भएको छ ।
सम्झौतासँगै निम्बजका अन्तर्राष्ट्रिय डेटा (ई–सिम) तथा अन्तर्राष्ट्रिय ड्राइभिङ अनुमति (आईडीपी) सम्बन्धी सेवाहरू कुमारी बैंकको मोबाइल बैंकिङ एपमा एकीकृत गरिएको छ ।
अब कुमारी बैंकका ग्राहकले मोबाइल बैंकिङ एपमार्फत नै विदेश यात्राका लागि आवश्यक अन्तर्राष्ट्रिय डेटा ई–सिम प्याकेज खरिद गर्न र अन्तर्राष्ट्रिय ड्राइभिङ अनुमतिका लागि आवेदन दिन सक्ने भएका छन् ।
विदेश यात्रा गर्ने नेपाली, उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थी, वैदेशिक रोजगारीमा रहेका नेपाली तथा व्यवसायिक प्रयोजनका लागि नियमित विदेश आवतजावत गर्ने ग्राहकलाई यी सेवा विशेष उपयोगी हुने बैंकले जनाएको छ ।
ई–सिम सेवामार्फत विदेश पुगेपछि स्थानीय सिम कार्ड खरिद गर्ने, सिम परिवर्तन गर्ने वा विभिन्न नेटवर्क सेवाको खोजीमा समय खर्च गर्नुपर्ने झन्झट हट्नेछ । त्यस्तै, आईडीपी सेवाले अन्तर्राष्ट्रिय ड्राइभिङ अनुमति प्राप्त गर्ने प्रक्रियालाई थप सरल, छिटो र व्यवस्थित बनाउने अपेक्षा गरिएको छ ।
यी सेवाको शुल्कसमेत ग्राहकले कुमारी बैंकको मोबाइल बैंकिङ एपमार्फत नेपाली रुपैयाँमै भुक्तानी गर्न सक्ने व्यवस्था गरिएको छ । यसले विदेशी मुद्रा भुक्तानीका वैकल्पिक माध्यम खोज्नुपर्ने आवश्यकता घटाउनुका साथै प्रक्रिया थप सहज र सुरक्षित बनाउने बैंकको विश्वास छ ।
विगत २५ वर्षदेखि बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकले हाल देशभर २८५ शाखा, ४१ विस्तारित काउन्टर, ३०३ एटीएम तथा ४० शाखारहित बैंकिङ सेवामार्फत ग्राहकलाई सेवा दिँदै आएको छ ।
बैंकले प्रविधिमा आधारित आधुनिक सेवामार्फत ग्रामीण, अर्ध–सहरी तथा सहरी क्षेत्रका ग्राहकलाई अन्तर्राष्ट्रिय स्तरका डिजिटल सेवामा समान पहुँच पुर्याउने र डिजिटल समावेशीकरणलाई थप बलियो बनाउने जनाएको छ ।