काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले यौन व्यवसायलाई खुला गर्नुपर्ने धारणा नेपाली कांग्रेसको नभएको स्पष्ट पारेको छ ।
आज मंगलबार बसेको पार्टीको पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै कांग्रेस प्रवक्ता डा. प्रकाश शरण महतले सांसद घिमिरेको धारणा कांग्रेसको नभएको प्रष्ट पारेका हुन् ।
प्रमुख सचेतक घिमिरेले संसदमा यौन व्यवसाय खुला गर्नुपर्ने धारणा व्यक्त गरेको र त्यो उनको नितान्त व्यक्तिगत भएको नेता महतको भनाइ छ । पार्टीले यसबारेमा कुनै धारणा नबनाएको भन्दै पार्टी पंक्ति र जनमानस द्विविधामा नपर्न उनले आग्रह गरेका छन् । त्यस किसिमको धारणा नराख्न घिमिरेलाई निर्देशन दिइएको पनि महतले बताए ।
केही दिनअघि प्रतिनिधि सभाको बैठकमा कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरेले यौन व्यवसायलाई खुला गर्नुपर्ने धारणा राखेका थिए । त्यसपछि सो धारणाको तीव्र आलोचना भइरहेको छ ।
यो पनि पढ्नुहोस्–
नेपालमा वैधानिक वेश्यालय चलाउनु ठीक कि बेठीक ?
FACEBOOK COMMENTS