काठमाडौं । कर्पोरेट मिडिया ग्रुपले आयोजना गरेको १८औँ संस्करणको ‘कर्पोरेट बिजनेश समिट एण्ड अवार्ड, २०२६’ मा इन्टरनेशनल इन्स्टिच्युट अफ फेसन एण्ड टेक्नोलोजी (आईआईएफटी) ले विशेष प्रस्तुति दिएको छ ।
अवार्ड कार्यक्रमलाई मनोरञ्जनात्मक बनाउनका साथै कला, व्यवसाय र व्यक्तिगत विकासको प्रदर्शनका रूपमा उक्त सेग्मेन्ट समावेश गरिएको कर्पोरेट मिडिया ग्रुपकी उपाध्यक्ष सुष्मा महराले जानकारी दिइन् । विशुद्ध उद्योगी–व्यवसायीको माझमा आयोजना गरिएको अवार्ड कार्यक्रममा फेसन डिजाइनको क्षेत्रलाई पनि व्यवसायका रुपमा प्रदर्शन गरिएको उनको भनाइ छ ।
‘अवार्ड कार्यक्रमलाई ‘फेसन ब्रेक’ दिनका लागि यो कार्यक्रम निकै मेहनतपूर्वक समावेश गरेका हौँ,’ उपाध्यक्ष महराले भनिन्, ‘यसले केवल र्याम्पमा नयाँ कपडाहरू प्रदर्शन गर्नेमात्र नभइ नवप्रवर्तन र रचनात्मकता, आत्मविश्वास, बडी ल्याङ्ग्वेज, टीमवर्क, व्यवसाय प्रवर्द्धन तथा सांस्कृतिक विविधता र समाजको प्रतिविम्ब समेत उजागर गर्दछ ।’ फेसन शोको व्यवस्थापन र प्रदर्शनका लागि उनले आईआईएफटीका प्रबन्ध निर्देशक फुपु तेन्जिङ शेर्पालाई धन्यवाद ज्ञापन गरिन् ।
सो प्रदर्शनमा १० वटा समूहका एक/एक जना गरी १० जना मोडलहरूले प्रतिनिधिमुलक रूपमा आ–आफ्नो प्रस्तुति दिएका थिए । प्रस्तुतिमा आईआईएफटी स्कुलका फेसन समूहका विद्यार्थीहरूलाई सहभागि गराइएको आईआईएफटीका प्रबन्ध निर्देशक शेर्पाले जानकारी दिए । फेसन एण्ड इन्टेरियर डिजाइनले युवायुवतीलाई स्वरोजगारको आधार सृजना गरी स्वाबलम्वी बन्न मद्दत पुर्याइरहेको उनको भनाइ छ ।
उनका अनुसार स्कुल अफ फेसन एण्ड इन्टेरियर डिजाइनको क्षेत्रमा महत्वपूर्ण योगदान दिँदै आएको आईआईएफटी अन्तर्राष्ट्रिय मापदण्डअनुसारको फेसन तथा इन्टेरियर डिजाइनिङ स्कुल हो । यो नेपालकै पहिलो आईएओ ९००१:२०१५ प्रमाणित, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) आबद्ध तथा डब्ल्यूएससी लण्डन प्रमाणित फेसन स्कुलका रूपमा स्थापित भई सफलतापूर्वक सञ्चालन हुँदै आएको छ ।

हेर्नुहोस् तस्बिरहरू–

यो पनि पढ्नुहोस्–
फोटो र भिडिओमा हेर्नुहोस् ‘कर्पोरेट बिजनेश समिट एण्ड अवार्ड, २०२६’ को भव्य समारोह