काठमाडौं । चलचित्र ‘लालीबजार’को प्रदर्शन तत्कालका लागि रोक्न उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश दिएको छ ।
न्यायाधीश प्रकाश ढुंगानाको एकल इजलासले मंगलबार प्रदर्शन रोक्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलगायत निकायका नाममा अल्पकालीन अन्तरिम आदेश दिएको हो । अदालतले यही वैशाख २२ सम्म चलचित्र प्रदर्शन रोक्न आदेशमा भनेको छ ।
चलचित्रका कतिपय शब्दहरूमा आपत्ति जनाउँदै बादी समुदायको तर्फबाट रोशनी नेपालीले रिट दिएकी थिइन् । वैशाख १४ गते दिएको उक्त रिटमा सुनुवाइ सकिएपछि अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको हो ।
उक्त प्रकरणमा मन्त्रालयसहितका निकायलाई १५ दिनभित्र कारणसहितको लिखित जवाफ पेस गर्न समेत आदेश भएको छ । वैशाख २२ गते रिट निवेदक र विपक्षी निकायबीच संयुक्त इजलासमा दोहोरो छलफल हुनेछ । त्यसपछि आज दिएको अल्पकालीन अन्तरिम आदेशले निरन्तरता पाउने वा नपाउने भन्ने विषयको टुंगो लाग्नेछ ।
अन्तरिम आदेशले निरन्तरता पाए रिटको अन्तिम किनारा नलागेसम्म चलचित्र प्रदर्शन रोकिनेछ । यम थापा निर्देशित चलचित्र ‘लालीबजार’ यही वैशाख १८ देखि प्रदर्शनको तयारीमा थियो ।
