काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बडादसैँको बिदाको समयमा अष्टमीसम्म बजार अनुगमन जारी राख्ने भएको छ ।
महानवमीदेखि टीकाको भोलिपल्टसम्म भने बजार अनुगमन पूर्ण रूपमा स्थगित रहनेछ ।
विभागका सूचना अधिकारी अनिल किराँतीका अनुसार चाडपर्व बिदा सुरु भएसँगै बजार अनुगमन टोलीको संख्या समेत घटाइएको छ ।
सामान्य दिनहरूमा काठमाडौँ उपत्यकामा दैनिक १० वटा टोली खटिँदै आएकोमा फुलपाती र अष्टमीका दिन आलोपालो गरी दैनिक २ वटा टोलीले मात्र बजार अनुगमन गर्नेछन् ।
‘कर्मचारीहरू बिदामा घर जाने भएकाले फुलपाती र अष्टमीमा दुई–दुईवटा टोली मात्र परिचालन हुन्छन्,’ सूचना अधिकारी किराँतीले भने, ‘महानवमीदेखि टीकाको भोलिपल्टसम्म भने अनुगमन टोली खटिने छैन ।’ त्यसपछि पुन: नियमित अनुगमन सुरु हुने विभागले जनाएको छ ।
