काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गतको कृषि उद्यम केन्द्रले बेमौसमी वर्षाका कारण किसानले लगाएको अन्न बालीमा पुर्याएको क्षतिको क्षतिपुर्ति दिन माग गरेको छ ।
३ दिन परेको अविरल वर्षाले देशका विभिन्न स्थानमा मानवीयसँगै कृषि बाली नष्ट बनाएको भन्दै केन्द्रले पीडित किसानलाई तत्काल राहतको व्यवस्थन गर्न सरकारसँग माग गरेको हो ।
केन्द्रका सभापति अरुणराज सुमार्गीले पाकेको बाली भित्र्याउने समयमा परेको अविरल बर्षाले किसानलाई अत्यन्त प्रभाव पारेको भन्दै तत्काल राहत र क्षतिपुर्तिको व्यवस्था गर्न माग गरेका छन् ।
‘वर्षाले धनजनको ठुलो क्षति गरेको छ, मानवीय क्षति हुनु अत्यन्त दुःखद हो’ सुमार्गीले भने, ‘तर, त्यही वर्षाले किसानले लगाएको अन्न बाली सखाप भएको नदेख्ने हो भने गल्ती हुन्छ, बीमाको जागरण गाउँ गाउँमा पुग्न नसक्दा ९८ प्रतिशत किसानहरुले आफ्ना बालीको बीमा गराएका हुँदैनन्, विशेषगरी किसानहरूले पाकेको धान भित्र्याउन पाएनन्, यसको क्षतिपुर्ति र राहत तत्काल उपलब्ध गराउन म कृषि उद्यम केन्द्रको सभापतिको हैसियतमा सरकार (प्रधानमन्त्री शेरबहादुर देउवा) सँग माग गर्दछु ।’

उनले प्रधानमन्त्री आफैँ क्षतिको स्थलगत निरीक्षणमा निस्किनु राम्रो काम भएको भन्दै किसानका दुःख हेरेर फर्किने मात्रै नभई यथाशीघ्र राहतको घोषणा गर्दै उनीहरुलाई पुनः स्थापित गराउन माग पनि गरे ।

FACEBOOK COMMENTS