बैतडी । भारतको उत्तराखण्ड प्रदेशको पिढौरागढस्थित धौलीगंगा जलविद्युत् परियोजनाको बाँध पुनः खोलिने भएको छ । आइतबार (असोज ११) राति १२ बजेदेखि सोमबार बिहान १० बजेसम्म बाँध खोलिन लागेको हो ।
एनएचपीसी लिमिटेड, धौलीगंगा पावर स्टेसन भारतबाट प्राप्त पत्रअनुसार सिल्ट सफाइ (जलविद्युत् आयोजना, सिँचाइ नहर, ढलको लेदो, बाक्लो माटो वा बालुवा सफा गर्ने प्रविधि)का लागि बाँध खोलिने भएको हो ।
यसअघि गत साउन १३ गते पनि धौलीगंगा जलविद्युत् परियोजनाको बाँध खोलिएको थियो । सिल्ट सफाइका लागि परियोजनाको बाँधको ढोका खोलिने भएपछि महाकालीमा जलस्तर बढ्न सक्ने भएकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारी मीना अर्यालले जानकारी दिइन् । बाँध खोलिने समयमा नदीतटीय क्षेत्रका स्थानीयलाई नदीकिनारमा नजान आग्रह गरिएको उनले बताइन् ।
दार्चुलादेखि बैतडी, डडेल्धुरा, कञ्चनपुर हुँदै भारततिर बग्ने महाकालीमा पानीको सतह बढ्न सक्ने भएकाले नदी छेउछाउमा नजान प्रशासनले अनुरोध गरेको हो । २८० मेगावाट विद्युत् क्षमताको धौलीगंगा जलविद्युत् परियोजनाको बाँध खोल्नुपूर्व भारतीय पक्षले नेपाली पक्षलाई सतर्कताका लागि जानकारी गराउने गरेको छ । रासस