काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दिपक बहादुर सिंहले वेश्यालय चलाउन राजा फालेर गणतन्त्र ल्याएको हो भन्दै सरकारलाई प्रश्न गरेका छन् ।
आज सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा सांसद सिंहले गणतन्त्र धान्न सरकार स्वयम्ले वेश्यालय चलाउने योजना सांसदमार्mत अघि सारेको आरोप समेत लगाएका छन् ।
‘देशको आर्थिक विकासका लागि पर्यटन भित्र्याउन त्यो पनि ज्यादा खर्च गर्ने पर्यटन ल्याउनका लागि यौन व्यवसायलाई पर्मिट दिनुपर्छ भन्नुभएको छ सरकार पक्षका एक जना जिम्मेवार माननीयज्यूले । यो व्यवसाय (वेश्यालय) वा कोठी सरकारले नै चलाउने दिन आएको त होइन ?,’ उनले प्रश्न गर्दै भने, ‘यही दिनको लागि गणतन्त्र ल्याएको हो ? यही दिनका लागि राजा फ्याँकेको हो ?’
यस्तै उनले प्रकृतिको सुन्दर देश नेपालमा प्राकृतिक स्रोत र साधनलाई परिचालन गरेरै मुलुकको विकास गर्न सकिने चर्चा गर्दै उनले भने, ‘यो देश प्रकृतिको सुन्दर देश हो । यो देश जलस्रोतको विश्वकै ठूलो दोस्रो देश हो । यो देश देवभूमि हो, यो देश माता सीता र भृकुटीको भूमि हो । यो देश देवी पूजनको भूमि हो । यो देश बुद्ध जन्मेको भूमि हो ।’ मुलुकको धर्म, संस्कृति, कला र शैलीको प्रवर्द्धनबाट मुलुकलाई धनी बनाउन सकिने उनको भनाइ थियो ।
मुलुक विकासका लागि विदेश गएका देशका लाखौँ युवाहरूलाई नेपालमै रोजगारी सृजना गरी मुलुकमा फर्काउनुपर्ने उनको भनाइ थियो ।
FACEBOOK COMMENTS