काठमाडौं । भारत भ्रमणमा रहेकाे नाडा प्रतिनिधिमण्डलले भारतको राजधानी नयाँ दिल्लीमा नेपाल र भारतको व्यापार सम्झौतालाई थप विस्तार र प्रभावकारी कसरी बनाउन सकिन्छ, द्विपक्षीय आयात-निर्यातलाई कसरी सुदृढ बनाउन सकिन्छ भन्ने विषयमा पहिलो चरणको छलफल सम्पन्न गरेको छ ।
शनिबार नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको प्रतिनिधिमण्डल भारत सरकार, वाणिज्य विभागका सहसचिव विमल आनन्द र इन्जिनियरिङ एक्सपोर्ट प्रमोशन काउन्सिल अफ इण्डिया (ईईपीसी) राष्ट्रिय अध्यक्ष पंकज चड्डासँग यी विषयमा छलफल गरेकाे हाे ।
अर्को चरणको छलफलका लागि दुबै पक्षले अर्को मिति तोकेर भारतको ईईपीसीलाई नेपालमा निमन्त्रण गरिने छ । उक्त छलफलमा अटोमोबाइल कम्पोनेण्ट, अटोमोबाइल स्पेयर पार्टस र विद्युतीय सवारी साधनहरूका विषयमा छलफल गरिने छ ।
यही जनवरी १७ देखि २१ सम्म भारतको नयाँ दिल्लीमा आयोजना भइरहेको भारत मोबिलिटीअन्तर्गत भइरहेको अटो प्रदर्शनीका सन्दर्भमा नाडा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको प्रतिनिधिमण्डल भारत भ्रमणमा रहेको छ ।
उक्त छलफलमा इन्जिनियरिङ एक्सपोर्ट प्रमोशन काउन्सिल अफ इण्डियाका (ईईपीसी) तर्फबाट पूर्वअध्यक्ष अरूण गारोडिया, सहनिर्देशक पल्लवी साह, कार्यकारी निर्देशक तथा सचिव अधिप मित्रा र निर्देशक नीशिकान्त जुम्दाको उपस्थिति रहेको थियो ।
त्यसैगरी नाडाका तर्फबाट निवर्तमान अध्यक्ष डा. धु्रव थापा, वरिष्ठ उपाध्यक्ष आकाश गोल्छा, संस्थागत उपाध्यक्ष पुष्कर ओझा, उपाध्यक्ष राजनबाबु श्रेष्ठ, महासचिव सुरेन्द्रकुमार उपे्रती, सचिव विक्रम सिंहानिया, कोषाध्यक्ष मिलनबाबु मल्ल र सहकोषाध्यक्ष पंकज अग्रवालको उपस्थिति रहेको थियो ।
FACEBOOK COMMENTS