काठमाडौं । नयाँ नयाँ मनोरन्जनात्मक कार्यक्रमहरु निर्माण तथा प्रशारण गर्दै आएको डिशहोमले ‘रगतका कथाहरु’ शीर्षकमा नयाँ सिरिज निर्माण गर्ने भएको छ ।
डिश मिडिया नेटवर्क र दृश्यालय सिनेमा प्रालिको संयुक्त प्रस्तुतिमा बन्न लागेको श्रृंखलाको डिश मिडिया नेटवर्कका प्रवन्ध निर्देशक सुदीप आचार्य र लेखक/निर्देशक किरण बिकले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
सिरिजको पहिलो सिजनमा १३ श्रृंखलाहरु हुनेछन् र प्रत्येक श्रृंखलामा फरक फरक कथाबस्तु समेटिने कम्पनीले जनाएको छ ।
प्रवन्ध निर्देशक सुदिप आचार्यले भने , ‘हामी अलि फरक तरिकाको कथाहरु टिभीका दर्शकलाई दिन चाहन्थ्यौ त्यसैबेला किरण जी केहि फरक कथा छन् भन्दै आउनु भयो । पटक पटकको छलफल र पहिलो एपिसोड हेरे पछी हामीले खोजे जस्तै फरक खालको कन्टेन्ट बन्ने भएपछी डिशहोम दृश्यालय सिनेमा संग सहकार्य गर्न तयार भएको हो’ ।
यो सिरिज देशका विभिन्न ठाउँमा छायाँकंन हुने बताइएको छ । लेखक/निर्देशक किरण बिकका अनुसार ‘ समाजमा नभनिएका , लुकाइएका र भन्न पनि अफ्ठ्यारा लाग्ने लभ सेक्स एण्ड रिलेसनका हार्डकोर कथाहरु हामी दर्शकहरुलाई देखाउनेछौँ , नेपाली टिभीका दर्शकहरुलाई यो श्रृंखलाले केहि भिन्न स्वाद दिने विश्वास लिएको छु ।’
यस सिरिजमा युबिना भट्टराइ, सहारा कोइराला, राज कुमार दर्जी, प्रेम अधिकारी जेनिथ, नुतन, अस्मिता खनाल लगायतको अभिनय रहनेछ भने गोपाल आचार्य सह–निर्देशनमा रहने कम्पनीले जनाएको छ । साथै स्क्रिनप्लेमा सावित्री रसाइली र समानता गौतमको भुमिका हुनेछ ।
FACEBOOK COMMENTS