काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले आर्थिक गतिविधिमा महिलाको पहुँच बढाएर अधिकार सुनिश्चित गर्नुपर्ने बताएकी छिन् ।
११२औं अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा नेपाल चेम्बर अफ कमर्श अन्तर्गतको महिला चेम्बरले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले आर्थिक विकासमा महिलाको सहभागिता वृद्धिका लागि उत्पादनदेखि बजारीकरणसम्म राज्यले सहुलियत दिनुपर्नेमा जोड दिएकी छिन् ।
ग्रामीण महिलाहरूको जीवनस्तरमा सुधार नगरेसम्म महिला अधिकार सुनिश्चित गर्न नसकिने भन्दै मन्त्री रेग्मीले कृषि उत्पादन, माछापालान, कुखुरापालन एवम् घरेलु तथा साना उद्योगमा बिनाधितो ऋणको व्यवस्था गर्न पहल गर्ने प्रतिवद्धता जनाइन् । ‘उद्योग व्यवसायमा महिलाहरूको उपस्थिति अहिले पनि नगन्य छ । महिलालाई बिना धितो ऋण दिएर उत्पादनदेखि बजारीकरणसम्मै राज्यले साथ दिने हो भने मुलुकको समग्र आर्थिक विकाससँगै महिला अधिकार सुनिश्चित गर्न सकिन्छ,’ मन्त्री रेग्मीले भनिन् ।
महिलाको उद्यमशीलता विकासका लागि सरकारले आगामी वर्षको बजेटमा छुट्टै नीतिगत व्यवस्था गर्न लागेको मन्त्री रेग्मीले जानकारी दिएकी छिन् । साना तथा घरेलु उद्योग एवम् कृषिमा सहभागिता बढाउन एवम् उद्यमशीलता विकासका लागि तालिमको व्यवस्था गर्न आगामी वर्ष एक अर्व रूपैयाँ बजेट बिनियोजन गर्न लागिएको उनको भनाइ छ ।
उद्यमशीलतामार्फत महिला अधिकार सुनिश्चित गर्नुपर्नेमा कार्यक्रममा सहभागी सरोकारवालाले जोड दिएका छन् ।
FACEBOOK COMMENTS