काठमाडौं । रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते आएको विनाशकारी बाढी र पहिरोबाट प्रभावितहरूको सहयोगार्थ एमभी दुगड ग्रुपले १ करोड ११ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
ग्रुपका अध्यक्ष मोतीलाल दुगडले उक्त रकम बराबरको चेक ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा जम्मा हुने गरी आज अर्थमन्त्रीलाई हस्तान्तरण गरे ।
एमभी दुगड ग्रुप तथा ग्रुपको अटोमोबाइल्स डिभिजनमा कार्यरत कर्मचारीहरूको स्वैच्छिक आर्थिक सहयोग समेत गरी कूल १ करोड ११ लाखको चेक ग्रुपका अध्यक्ष मोतीलाल दुगड, उपाध्यक्ष विवेक दुगड तथा सञ्चालक शुभम दुगडद्वारा अर्थमन्त्रीलाई हस्तान्तरण गरिएको हो।
बाढी पहिरोका कारण भएको ठूलो धनजनको क्षतिप्रति गहिरो दु:ख व्यक्त गर्दै ग्रुपले ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली र शोककुल परिवारजनप्रति समवेदना प्रकट गरेको छ। पीडित नागरिकहरूलाई तत्काल राहत तथा पुन:स्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त रकम प्रदान गरिएको ग्रुपले जनाएको छ।
विपद्को यो कठिन घडीमा नेपाल सरकार, सुरक्षा निकाय र स्थानीय तहले गरिरहेको उद्धार कार्यको प्रशंसा गर्दै ग्रुपले आगामी दिनमा पनि मानवीय सहयोगमा निरन्तर रहने प्रतिबद्धता जनाएको छ।

यसै सन्दर्भमा, ग्रुपले जलवायु परिवर्तन र ग्लोबल वार्मिङको असर न्यूनीकरण गर्न वि.सं. २०७८ सालदेखि नै देशव्यापी वृक्षारोपण अभियान चलाउँदै आएको जानकारी दिएको छ। हालसम्म वन क्षेत्रमा ३ लाखभन्दा बढी बोटबिरुवा, ६ किलोमिटर लामो राजमार्ग खण्ड र विभिन्न विद्यालय तथा प्रहरी कार्यालय परिसरमा २५ हजारभन्दा बढी उन्नत जातका फलफूलका बिरुवा रोपिसकिएको विज्ञप्तिमा उल्लेख छ।