महोत्तरी । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनसँग सम्बन्धित सुरक्षा व्यवस्था सुदृढ बनाइँदै लगिएको छ । भारतसँग खुला सीमा जोडिएको अवस्थालाई दृष्टिगत गरी एक सय ४३ मतदानस्थललाई अतिसंवेदनशील र एक सय १४ संवेदनशील घोषित गरिएको छ ।
निर्वाचनलाई मध्यनजर गर्दै यसको आवरण÷निहुँमा हुनसक्ने सम्भावित अवाञ्छित घुसपैठ निस्तेज गर्न सुरक्षा प्रबन्ध सुदृढ गरिँदै लगिएको जिल्लाका मुख्य प्रशासक प्रमुख जिल्ला अधिकारी दीपक पहाडीले बताए । स्थानीय (जिल्ला) प्रशासन अहिलेदेखि नै निर्वाचनसम्बद्ध सुरक्षा प्रबन्धमा जुटेको छ”, उनले भने, “निर्वाचन सुरक्षा प्रबन्धका लागि अहिलेदेखि नै एक हजार पाँच सय नेपाल प्रहरी र दुई हजार आठ सय म्यादी प्रहरी परिचालित भइसकेका छन् ।” यसबाहेक सशस्त्र प्रहरी र नेपाली सेना पनि निर्वाचन सुरक्षामा आवश्यकतानुसार परिचालित गरिने छ ।
चार प्रतिनिधिसभा र आठ प्रदेशसभा क्षेत्र रहेको जिल्लामा निर्वाचनका लागि दुई सय ५८ मतदानस्थल र चार सय ९९ मतदान केन्द्र निर्धारण गरिएका छन् । जिल्लाका सबै मतदानस्थलको वस्तुस्थिति बुझी राख्न सुरक्षा निकायसहितको अनुगमन निरन्तर जारी राखिएको छ । “हामी (जिल्ला प्रशासन, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना) निरन्तर सबै मतदान केन्द्रको सुरक्षा अवस्था र सम्भावित चुनौतीबारे सचेत छौँ”, प्रजिअ पहाडी भने “करिब ३९ किलोमिटर भारतीय सीमासँग जोडिएको हुँदा जिल्लासँग जोडिएका भारतीय जिल्ला मधुवनी र सीतामढीका सुरक्षा अधिकारीसँग पनि सीमा सुरक्षाबारे निरन्तर संवादमा छौँ ।”
यो अवस्थालाई मध्यनजर गर्दै अहिलेदेखि नै आवश्यक प्रबन्धमा जुटेको जिल्ला सुरक्षा समितिका अध्यक्षसमेत रहेका प्रजिअ पहाडीको भनाइ छ । जिल्लाको भौगोलिक अवस्थिति, सामाजिक परिवेश, आपराधिक गतिविधिलगायतका आधारमा मतदानस्थल र मतदान केन्द्रलाई तीन तह ९अतिसंवेदनशील, संवेदनशील र सामान्य०मा वर्गीकरण गरी सोहीअनुरूप सुरक्षा व्यवस्था प्रबन्ध गरिएको जिल्ला सुरक्षा समितिले जनाएको छ ।
निर्वाचन तयारीसँगै जिल्ला सुरक्षा समितिले योजनाबद्ध जनसम्पर्क बढाएको जनाएको छ । आम जनतासँगको प्रत्यक्ष साक्षात्कारबाट सुरक्षा अवस्थाबारे थप जानकारी प्राप्त हुँदै गएको र आम जनतामा पनि सुरक्षा व्यवस्थाबारे विश्वास बढेको पाइएको छ । निर्वाचनलक्षित सुरक्षा व्यवस्थाअनुसार सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेना सम्मिलित तीन तहमा सुरक्षा परिचालनको तयारी गरिएको प्रजिअ पहाडीको भनाइ छ ।
सुरक्षा बन्दोबस्ती कार्यमा निर्वाचन अधिकृतको कार्यालय, जिल्ला निर्वाचन कार्यालय, मतदानस्थल र उम्मेदवारको सुरक्षा, आचारसंहिताको सुक्ष्म अनुगमनलगायतका विषयलाई विशेष ध्यान दिएर सशस्त्र प्रहरीको कमाण्डमा सुरक्षा गस्ती परिचालन गरिएको प्रजिअ पहाडीले जानकारी दिए ।
“आम मतदाताले सुरक्षाबारे ढुक्क भएर मतदान गर्न सक्ने व्यवस्था मिलाइएको छ”, पहाडी भन्छन्, “जिल्लामा निर्वाचन स्वच्छ र भयरहित वातावरणमा सम्पन्न गर्न स्थानीय प्रशासन र सुरक्षा निकायको योजनामा राजनीतिक दल र सबै उम्मेदवारको सद्भाव र सहयोग आवश्यक छ ।”
जिल्लाका चार प्रतिनिधिसभा र आठवटै प्रदेशसभामा गरी अहिले दुई सय २६ उम्मेदवार निर्वाचन चिह्न प्राप्त गरी चुनावी प्रचारमा लागिसकेका छन् । दलका नेता, उम्मेदवार र कार्यकर्ताको सघन गतिविधिले जिल्लामा चुनावी माहोल तात्दै छ । जिल्लामा यसपालि जम्मा तीन लाख ९७ हजार ३० मतदाता छन् । जसमा दुई लाख १५ हजार एक सय ३१ पुरुष, एक लाख ८१ हजार आठ सय ९८ महिला र एक तेस्रोलिङ्गी (अन्य) रहेका जिल्ला निर्वाचन कार्यालय महोत्तरीले यसअघि नै सार्वजनिक गरिसकेको छ ।
FACEBOOK COMMENTS