काठमाडौँ । साउदी अरेबियामा ६२ जना नेपाली नागरिकले फाइनल एक्जिट भिसा प्राप्त गरेका छन् ।
रियादस्थित नेपाली दूतावासले सूचना जारी गर्दै भिसा प्राप्त गरेका नेपालीलाई यथाशीघ्र स्वदेश फर्किन अनुरोध गरेको छ । साथै, इकामा अवधि सकिएर नेपाल फर्कन चाहनेहरूले आवश्यक प्रक्रिया पूरा गर्न राजदूतावासमा उपस्थित हुनुपर्ने बताइएको छ ।
सूचनाअनुसार सम्बन्धित व्यक्तिले अनलाइन प्रणालीमार्फत आवेदन दर्ता गरी आवश्यक विवरण भर्नुपर्नेछ । त्यसपछि सम्बन्धित निकायबाट सन्देश प्राप्त भएपछि अन्तिम एक्जिट प्रक्रिया अघि बढ्नेछ ।
यदि मोबाइलमा एक्जिट भिसाको सन्देश प्राप्त नभएको अवस्थामा राजदूतावासमा सम्पर्क गरी कागजी प्रति लिनुपर्नेछ भने सन्देश आइसकेको भए सोही देखाएर विमानस्थलबाट यात्रा गर्न सकिने जनाइएको छ ।

राजदूतावासका अनुसार एक्जिट भिसा प्रक्रिया निःशुल्क हुने छ । तर स्वदेश फर्किने हवाई टिकट भने सम्बन्धित व्यक्तिले आफैं व्यवस्था गर्नुपर्नेछ । साथै, टिकट खरिद गर्दा पासपोर्ट वा यात्रा कागजातको विवरण मिलेको छ कि छैन भन्ने यकिन गर्न पनि आग्रह गरिएको छ ।

राजदूतावासका अनुसार विभिन्न जटिल परिस्थितिका कारण साउदी अरबमा बसाइ निरन्तरता दिन नसकेका नेपालीहरूलाई सहजीकरण गर्दै बहिर्गमन प्रक्रिया अघि बढाइए अनुसार एक्जिट भिसा प्राप्त भएको हो ।