काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले आइतबार साँझ नेपाल विद्युत् प्राधिकरणको स्युचाटारस्थित भार प्रेषण केन्द्रको अनुगमन गरेका छन् ।
मन्त्री खड्काले देशभरिको विद्युतको खपत र आपूर्ति व्यवस्थापनका विषयमा जानकारी लिएको जानकारी दिँदै केही समूह वा व्यक्तिहरूले नियोजित रूपमा लोडसेडिङको हल्ला फैलाइरहेको आरोप लगाए ।
उनले भने, ‘हाल देशमा उत्पादन भइरहेको विद्युत आन्तरिक माग पूरा गर्न पर्याप्त रहेको छ । केही समूह वा व्यक्तिहरूले नियोजित रूपमा लोडसेडिङको हल्ला फैलाइरहेका छन्, जुन पूर्णतः भ्रामक र आधारहीन छ ।’
उनले मौसमजन्य घटनाका कारण कहिलेकाहीँ केही क्षण समस्या देखिए पनि तिनको तत्काल समाधान भइरहेको बताए ।
साथै, उनले सबै प्राविधिक र कर्मचारीहरू जिम्मेवार ढङ्गले आफ्नो कार्यमा खटिरहेको भन्दै बजारमा फैलिने अपुष्ट सूचना र अफवाहप्रति सजग रहन पनि आग्रह गरे ।
FACEBOOK COMMENTS