काठमाडौं । नेपालको इतिहासमै पहिलो पटक फिटनेस एक्स्पो आयोजना भएको छ ।
नेपाली फिटनेस उद्योगलाई व्यवसायिक रुपमा बलियो बनाउने र अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने उद्देश्यका साथ क्लासिक फिटनेस एकेडेमीले एक्स्पो आयोजना गरेको हो ।
एक्स्पोमा नेपालमै बनेका फिटनेसका उपकरण, पोशाक, पोषण जस्ता विभिन्न सामग्री प्रदर्शनमा राखिएका थिए । एक्स्पोको उद्देश्य फिटनेसलाई एक जीवनशैलीको रूपमा स्थापित गर्नु र नेपाली युवालाई सशक्त बनाउनु रहेको आयोजक पक्षले बताएको छ ।
क्लासिक फिटनेस एकेडेमीका संस्थापक निर्देशक रोजल शाहीले भने, ‘यो एक इभेन्ट मात्र होइन, यो फिटनेसप्रतिको प्रेम र जीवनशैलीको एक अभियान हो ।’ नेपालमा फिटनेसको क्षेत्रमा यो पहिलो अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी भएको र अवलोकनकर्ताको उत्साहजनक सहभागिताले आँट गर्दा असम्भव केही छैन भन्ने आत्मविश्वास शाहीको भनाइ छ ।
त्यसैगरी अशोक फिटनेसका म्यानेजिङ डाइरेक्टर अविशेष शाहीले अशोक फिटनेसले विगत ३० वर्षदेखि फिटनेस सामग्री उत्पादन गर्दै आएको जाकारी गराउँदै भने, ‘३० वर्ष अगाडि नेपाली बजारमा फिटनेसलाई लाइट्ली लिइन्थ्यो अब भने सिरियस्ली लिएको पाइन्छ ।’

म्यानुफ्याक्चरको सवालमा नेपाली कम्पनीहरुले केही हदसम्म नेपाली बजारमा आफूलाई स्थापित गर्न सफल भए पनि नयाँ खुल्ने म्यानुफ्याक्चर कम्पनीका लागि भने चुनौती रहेको उनले बताए ।

एक्स्पोमा फिटनेसप्रेमीहरूले नयाँ–नयाँ इक्यूपमेन्ट, सप्लिमेन्ट्स र अन्य फिटनेससम्बन्धी सामाग्रीहरूको पनि अवलोकन गरेका छन् ।

एक्स्पोमा नयाँ फिटनेस प्रोडक्टहरूको लञ्च पनि गरिएको छ । फेसन शो र फिटनेस सेलेब्रिटीहरूको उपस्थितिले एक्स्पोको आकर्षण थप बढाएको थियो । नेपाल, भारत, सिङ्गापुरका लोकप्रिय फिटनेस व्यक्तित्वहरूको समेत सहभागिता रहेको थियो ।
एक्स्पोमा २७ वटा स्टल रहेका छन् । जसमा विभिन्न फिटनेस ब्रान्ड र कम्पनीहरूले आफ्नो उत्पादनहरू प्रस्तुत गरे । यस एक्स्पोले फिटनेस र स्वास्थ्यसँग सम्बन्धित सबैलाई एउटै प्लेटफर्ममा ल्याउन सफल भएको आयोजक पक्षले दाबी गरेको छ । जिमको सामग्रीमा विशेष छुटको व्यवस्था समेत गरिएको थियो ।
एक्स्पोमा नेपाली फिटनेस आइकनहरू राजेश शाही, महेश्वर महर्जन, प्रज्ज्वलमान शाक्य, रजनी श्रेष्ठ तथा अन्तर्राष्ट्रिय फिटनेस सेलिब्रेटीहरू रोहित खत्री, नरेश सूर्या, युनिश शेख, सोनिया सिंह खत्री, रजत गोयल, बिन्दिया शर्मा र जेर्री कान टानलगायतको सहभागिताले एक्स्पोमा रौनकता बढाउनमा थप मद्दत पुर्याएको थियो ।