काठमाडौं । नेपालमा पछिल्लो समय पाँचतारे तथा विलासी होटेल क्षेत्रमा ठूलो मात्रामा लगानी बढ्दै गएको छ ।
पर्यटनको प्रचुर सम्भावना भए पनि अपेक्षा अनुसार विदेशी पर्यटक आगमन बढ्न नसकिरहेको अवस्थामा पनि विदेशी होटेल समूहदेखि स्वदेशी ठूला व्यावसायिक घरानासम्मले अर्बौँ रूपैयाँ लगानी गर्दै होटेल पूर्वाधार विस्तारलाई तीव्रता दिएका छन् ।
राजमार्ग विस्तार, सहरी पूर्वाधार विकास र अन्तर्राष्ट्रिय सम्पर्क सुधारको अपेक्षासँगै नेपाललाई उच्चस्तरीय पर्यटन गन्तव्य बनाउने लक्ष्यसहित होटेल उद्योगमा नयाँ लहर देखिएको हो ।
नेपालको होटेल उद्योगमा सबैभन्दा ठूलो र चर्चित लगानीमध्ये अन्तर्राष्ट्रिय होटेल समूह म्यारियट इन्टरनेसनलले गरेको प्रवेशलाई लिइन्छ । जेठ २२ गते कम्पनीले नेपालमा दुईवटा अति विलासी होटेल सञ्चालन गर्नेगरी सीजी हस्पिटालिटी ग्लोबलसँग ऐतिहासिक सम्झौता गरेको छ । यसअघि पनि काठमाडौंको नक्सालमै म्यारियट इन्टरनेसनल अन्तर्गतको म्यारियट काठमाडौं सञ्चालनमा छ ।
सम्झौता पछि चौधरी समूहका अध्यक्ष विनोद चौधरीले भने, ‘नेपालको आतिथ्य उद्योग अब उच्च स्तरमा प्रवेश गर्न तयार भएको सन्देश यो सम्झौताले दिएको छ ।’

यो सम्झौता म्यारियटका अध्यक्ष डेभिड म्यारियटको उपस्थितिमा सम्पन्न भएको हो । सम्झौता अनुसार काठमाडौँको ठमेल क्षेत्रमा ‘द रिट्ज कार्लटन काठमाडौँ’ ब्रान्डको होटेल निर्माण हुने भएको छ । जुन नेपालको आतिथ्य क्षेत्रमा अहिले सम्मकै सबैभन्दा ठूलो निजी लगानी मध्ये एक मानिएको छ ।

यो परियोजनाको लागत करिब १० करोड अमेरिकी डलर अर्थात् झन्डै १५ अर्ब रूपैयाँ अनुमान गरिएको छ । १५० कोठा क्षमताको यो अति विलासी होटेलमा ब्रान्डयुक्त आवास, व्यापारिक भवन तथा मनोरञ्जन सुविधा समेत रहनेछ । होटेल सञ्चालनमा आएपछि प्रतिरात प्रतिकोठा एक हजार अमेरिकी डलर भन्दा बढी दर रहने अनुमान गरिएको छ । यो परियोजना सन् २०२९ को मध्य सम्म पूरा गर्ने लक्ष्य छ ।

सोही सम्झौता अन्तर्गत म्यारियटले अर्को पाँचतारे होटेल ‘द वेस्टिन काठमाडौँ’ पनि सञ्चालन गर्ने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब सात किलोमिटर दूरीमा रहने यो होटेलमा १५० प्रिमियम तथा सुइट कोठा रहने जानकारी दिइएको छ ।
सम्झौतापछि म्यारियटका एसिया–प्रशान्त क्षेत्रका प्रतिनिधिले भने, ‘नेपाल उच्च सम्भावना भएको बजार हो । यहाँको आतिथ्य अनुभवलाई विश्वस्तरमा विस्तार गर्न सकिन्छ ।’
अर्कोतर्फ ठमेलमै निर्माण भइरहेको ‘म्यारियट लक्जरी कलेक्सन होटेल’ पनि चर्चामा छ । यो परियोजना गैरआवसीय नेपाली संघका पूर्वअध्यक्ष शेष घले र जमुना गुरुङ घलेको लगानीमा निर्माण भइरहेको छ । होटेल निमार्णलाई अन्तिम चरणमा पुर्याएका शेष घलेले भने, ‘हामीले यो परियोजनालाई नेपालकै अन्तर्राष्ट्रिय स्तरको पहिचान बनाउने प्रयास गरेका छौँ ।’ त्यसैगरी जमुना गुरुङ घलेले भनिन्, ‘यो होटेल दक्षिण एसियाकै पहिलो विलासी होटेल हुनेछ ।’
करिब २२५ कोठा रहने यो होटेलको लागत पनि करिब १५ अर्ब रूपैयाँ हाराहारी पुग्ने अनुमान गरिएको छ । सन् २०१३ देखि सुरू भएको यो परियोजना यसै वर्षभित्र सञ्चालनमा आउने तयारीमा छ ।
सन् १९६५ मा राजपरिवारका सदस्यहरूको अग्रसरतामा पहिलो पटक नेपालमा पाँचतारे होटेल सोल्टी सञ्चालन भएको थियो । पञ्चायतकलामा राजपरिवारकै संलग्नतामा दरबारमार्गमा होटेल डेल अन्नपूर्ण, त्यसको सात वर्ष पछि नयाँ बानेश्वरमा द होटेल एभरेस्ट इन्टरनेशनल सञ्चालनमा आएको थियो । नेपालमा २०६३ सालसम्म १० वटा पनि पाँचतारे होटेलहरू बन्न सकेका थिएनन् । तर मुलुकमा गणतन्त्र स्थापना भएपछि पाँचतारे होटेलको सङ्ख्या उल्लेखनीय मात्रामा बढेको छ ।
सङ्घीय राजधानी काठमाडौंसहित देशका विभिन्न ठाउँहरूमा गरी अहिले देशभर २४ वटा पाँचतारे होटेल सञ्चालनमा छन् । यस्तै ६ वटा भन्दा धेरै पाँचतारे होटेलहरू निर्माणाधीन अवस्थामा छन् । अबको पाँच वर्षभित्रमा नेपालमा पाँचतारे होटेलको सङ्ख्या कम्तीमा ३४ वटा भन्दा बढी हुने अनुमान गरिएको छ ।
वर्षौँदेखि सञ्चालनमा रहेका पाँचतारे होटेलहरूको प्रतिफल सामान्य भइरहेको अवस्थामा अर्बौँ रकम लगानी भइरहेका नयाँ तारे होटेलको लगानीको प्रतिफलको सुनिश्चित कसरी हुन्छ भन्नेमा भने अन्योल कायमै छ ।
होटलहरूमा लगानी बढे पनि आम्दानी नबढेको गुनासो पनि सुनिन्छि, तर होटेल एसोसिएसन नेपालका महासचिव साजन शाक्यले भने होटेलमा गरेको लगानी दीर्घकालीन भएको भन्दै तत्काल त्यसको प्रतिफल प्राप्त हुन नसक्ने बताउँछन् । ‘होटेल व्यवसाय दीर्घकालीन लगानी हो । आजको लगानी भोलि नै प्रतिफल दिने व्यवसाय होइन । होटेलको सम्पत्तिको मूल्य समयसँगै बढ्दै जान्छ,’ उनले भने ।
पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थललाई प्रभावकारी रूपमा सञ्चालन गर्न सक्ने हो भने, अहिलेको होटेलले पर्यटकको चाप थाम्न नसक्ने महासचिव शाक्यको भनाइ छ । नेपालका रराजमार्गहरूको स्तरोन्नति भइरहेको अवस्थामा अन्तर्राष्ट्रिय विमानस्थलहरूलाई पनि चलाउन सके नेपालमा होटेल व्यवसाय निकै फस्टाउने उनको भनाइ छ ।
नेपालको होटेल क्षेत्रमा बैङ्क तथा वित्तीय संस्थाको लगानी पनि बढ्दै गएको छ । अहिले होटेल क्षेत्रमा एक खर्ब ६० अर्ब रूपैयाँ भन्दा बढीको बैङ्क लगानी पुगेको छ । नेपालमा होटेलको सम्भावना देखेर नै बैङ्कहरूले अर्बौँ लगानी गरेको जानकारहरूले बताएका छन् । बैङ्किङ मामिलाका जानकारहरू भन्छन्, ‘पर्यटन सम्भावना देखेर बैङ्कहरूले होटेल क्षेत्रमा ठूलो लगानी बढाएका हुन् । यो क्षेत्र दीर्घकालीन रूपमा सुरक्षित देखिन्छ ।’
पर्यटक आवागमनको अवस्था कस्तो छ ?
पर्यटन बोर्डका अनुसार पछिल्लो महिनामा मात्रै हवाई मार्गबाट एक लाख दुई हजारभन्दा बढी पर्यटक नेपाल आएका छन् । स्थल मार्ग हुँदै नेपाल भित्रिने पर्यटकको सङ्ख्या त्यो भन्दा धेरै छ । भारतसँग सीमा जोडिएका नेपालका तराई र मधेश क्षेत्रमा सञ्चालनमा आएका तारे होटेलमा पनि ठूलो मात्रमा पर्यटक आउने गरेका छन् । यी क्षेत्रमा खास गरी भारतीय नागरिकहरू क्यासिनो खेल्न आउने गरेका छन् ।
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपक राज जोशीले होटेलमा बढ्दै गएको लगानी र पर्यटकको सङ्ख्यामा थप वृद्धि आउने बताएका छन् । तर, त्यसका लागि नेपालको पूर्वाधार विकासलाई तीव्रता दिनुपर्ने उनको भनाइ छ । ‘नेपालमा ठूलो सम्भावना छ । तर राजनीतिक अस्थिरता, पूर्वाधारको कमी र कमजोर प्रचारका कारण अपेक्षाअनुसार पर्यटक आउन सकेका छैनन्,’ उनले भने, ‘यदि यी समस्या समाधान भए दुईदेखि तीन वर्षभित्र पचास लाख पर्यटक भित्र्याउन सकिन्छ ।’
नेपालमा पाँचतारे होटेल र विलासी रिसोर्टमा देखिएको लगानीको लहरले पर्यटन क्षेत्रप्रति लगानीकर्ताको उच्च विश्वास देखाउँछ । तर पूर्वाधार, नीति स्थिरता र अन्तर्राष्ट्रिय प्रचारको कमजोरीका कारण पर्यटन क्षेत्र अझै अपेक्षा अनुसार गति लिन सकेको छैन ।