काठमाडौं । पाटन उच्च अदालतले नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को आसन्न ६०औँ साधारण सभा र निर्वाचन प्रक्रिया रोक्न अन्तिरिम आलेश दिएको छ ।
नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले दायर गरेको निवेदनमाथि सुनुवाइ गर्दै अदालतले यस्तो आदेश जारी गरेको हो । निवेदकको माग अनुसार प्रारम्भिक रुपमा गम्भीर विषय देखिएको भन्दै संयुक्त इजलासका न्यायाधीशहरू खड्क बहादुर केसी र दीपक खनालले यस्तो आदेश जारी गरेका हुन् ।
रिट निवेदनमा ०८१ फागुन १६ गते जारी गरेको परमादेशअनुसार आवश्यक निर्णय नगरी साधारणसभा आयोजना गरिएमा निवेदक पक्षलाई असर पर्ने देखिएको निष्कर्ष निकाल्दै अदालतले मुद्दाको अन्तिम टुङ्गो नलागेसम्म सम्बन्धित पक्षलाई यथास्थितिमा राख्न आदेश दिएको छ । योसँगै अन्तिम समयमा आएर महासंघको साधारण सभा र निर्वाचन प्रक्रिया प्रभावित बनेको छ । महासंघले आफ्नो ६०औँ साधारण सभा तथा अधिवेशन आगामी आइतबार र सोमबारका लागि तय गरेको थियो ।
महासंघको आसन्न साधारण सभामा आफूलाई समावेश नगराएको भन्दै नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले उच्च अदालत पाटनमा रिट दायर गरेको थियो । निवेदनमाथि छलफलका क्रममा निवेदकका तर्फबाट अधिवक्ता जयलाल भण्डारी र प्रितम घिमिरेले पैरवी गरेका थिए भने विपक्षीका तर्फबाट वरिष्ठ अधिवक्ता हरिश्चन्द्र सुवेदी, लीलामणि पौडेल, खगेन्द्रबहादुर राउत तथा अधिवक्ताहरू दीपक घिमिरे, सुमनकुमार केसी र चन्द्रमणि निरौलाले बहस गरेका थिए ।

