काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घले विधिको शासनको पूर्ण पालन, र शान्तिपूर्ण तथा सुरक्षित व्यावसायिक वातावरण सुनिश्चित गर्न आवश्यक कदम चालिनुपर्नेमा जोड दिएको छ ।
भदौ २३ र २४ गतेका घटनासम्बन्धी जाँचबुझ आयोगका पदाधिकारीसँग आज नेपाल उद्योग वाणिज्य महासङ्घको सचिवालयमा भएको भेटवार्ताका क्रममा महासङ्घले जेन जी आन्दोलनका क्रममा भएको गलत घुसपैठ र निजी क्षेत्रमाथि भएका विभिन्न आक्रमण, तोडफोड र त्यसले मुलुकको व्यावसायिक वातावरणमा पारेको असरबारे जानकारी गराएको थियो ।
सो अवसरमा आयोगका अध्यक्ष पूर्वन्यायाधीश गौरीबहादुर कार्की र सदस्यहरूले आन्दोलनका क्रममा निजी क्षेत्रले ब्यहोरेको क्षति तथा अन्य विविध विषयमा जानकारी लिएका थिए ।
निजी क्षेत्रले ब्यहोरेको क्षतिबारे जानकारी गराउँदै महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्र मुलुकको अर्थतन्त्रको मेरुदण्ड भएकाले यस्ता घटना दोहोरिन नदिन निजी क्षेत्रको सुरक्षामा राज्य संयन्त्रको प्रभावकारी भूमिका हुनुपर्ने बताए ।
उनले आयोगले दिने सुझावले आउने दिनमा विधिको शासनको पूर्ण पालन र शान्तिपूर्ण तथा सुरक्षित व्यावसायिक वातावरण सुनिश्चित गर्न आवश्यक कदम चालिनुपर्नेमा जोड दिए । ‘निजी क्षेत्रले आफ्नो लागि मात्र काम गरको हुँदैन । राजस्व र रोजगारीमा योगदान दिएको हुन्छ । निजी क्षेत्र अर्थतन्त्रको मेरुदण्ड हो भन्ने विषयलाई सरकार, आयोग, राजनीतिक दल तथा आम नागरिकहरूले पनि बुझ्न र बुझाउन आवश्क छ,’ अध्यक्ष ढकालले भने ।

आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले घटनाको सबै पक्षलाई समेटेर सत्यतथ्यगत प्रतिवेदन तयार पारिने र ती सुझावहरू भोलिका दिनमा नीति निर्माणमा उपयोगी हुने विश्वास व्यक्त गरे । उनले निजी क्षेत्र अर्थतन्त्रको संवाहक भएको र यो क्षेत्रको संरक्षण गर्नु राज्यको दायित्व भएको धारणा राखे ।

सो अवसरमा नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ, उपाध्यहरू सुरकृष्ण वैद्य, हेमराज ढकाल, ज्योत्सना श्रेष्ठ र कोषाध्यक्ष भरत आचार्य तथा आयोगका तर्फबाट सदस्य तथा प्रवक्ता पूर्वएआईजी विज्ञानराज शर्मा र कानुनविद् विश्वेश्वरप्रसाद भण्डारी सहभागी थिए ।

FACEBOOK COMMENTS