काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को निर्वाचन वर्ष नजिकिँदै जाँदा वरिष्ठ उपाध्यक्ष पदका आकांक्षीहरूको चहलपहल तीव्र बन्दै गएको छ ।
यद्यपि यो वर्ष महासंघको निर्वाचन हुने भए पनि अध्यक्ष पदका लागि भने प्रतिस्पर्धा नहुने स्पष्ट भइसकेको छ ।
अघिल्लो निर्वाचनमै ‘अपकमिङ प्रेसिडेन्ट’का रूपमा अञ्जन श्रेष्ठ निर्वाचित भइसकेकाले अध्यक्ष पदको निर्वाचन आगामी तीन वर्षपछि हुने साधारण सभामा मात्र हुने छ । अञ्जन श्रेष्ठले अघिल्लो निर्वाचनमा उमेशलाल श्रेष्ठ र रामचन्द्र सङ्घाइलाई पराजित गर्दै महत्वपूर्ण जित हासिल गरेका थिए ।
यस पटक अध्यक्ष पदमा चुनाव नहुने भएपछि महासंघभित्र उपाध्यक्ष तथा विशेषगरी वरिष्ठ उपाध्यक्ष पद केन्द्रित राजनीतिक गतिविधि बढेको देखिन्छ । भावी अध्यक्ष बन्ने बाटो यही पदबाट खुल्ने भएकाले वरिष्ठ उपाध्यक्ष पदका आकांक्षीहरूले स्पष्ट बहुमत सुनिश्चित गर्न प्यानल निर्माणमा समेत उनीहरू केन्द्रित हुन थालेका छन् ।
हालका उपाध्यक्षहरू सुरकृष्ण वैद्य, हेमराज ढकाल र ज्योत्सना श्रेष्ठ वरिष्ठ उपाध्यक्ष पदका प्रमुख आकांक्षीका रूपमा देखिएका छन् । यस्तै, पूर्वउपाध्यक्षहरू दिनेश श्रेष्ठ र रामचन्द्र सङ्घाइ पनि यो प्रतिस्पर्धामा सक्रिय रूपमा देखिन थालेका छन् ।

यस निर्वाचनमा कसलाई सफलता मिल्छ भन्ने कुरा धेरै हदसम्म वर्तमान अध्यक्ष चन्द्र प्रसाद ढकाल र वरिष्ठ उपाध्यक्ष (अपकमिङ प्रेसिडेन्ट) अञ्जन श्रेष्ठले कसलाई समर्थन गर्छन् भन्नेमा निर्भर रहने जानकारहरू बताउँछन् । उनीहरूको राजनीतिक सङ्केत र समर्थनले महासंघको आगामी नेतृत्व संरचना निर्धारण गर्ने महत्वपूर्ण आधार बन्ने देखिन्छ ।

एफएनसीसीआईभित्र बढ्दो चुनावी सरगर्मीले निजी क्षेत्रको नेतृत्व राजनीतिलाई थप चासो र रणनीतिक मोडमा पुर्याएको छ ।

FACEBOOK COMMENTS