फर्चुना हेल्थ केयर प्रालिको विधिवत उद्घाटन समारोहमा पाल्नुभएका, प्रमुख अतिथि माननीय उपप्रधान एवम् स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री श्री उपेन्द्र यादवज्यू, विशिष्ट अतिथि माननीय उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री श्री दामोदर भण्डारीज्यू, विभिन्न मन्त्रालयका सचिवज्यू, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष श्री चन्द्रप्रसाद ढकालज्यू, यहाँ उपस्थित विभिन्न क्षेत्रबाट प्रतिनिधित्व गर्नुहुने उद्यमी व्यवसायी, नेपाल सरकारका उच्चपदस्थ अधिकारीज्यूहरू, स्वास्थ्य क्षेत्रका सम्मानित व्यक्तित्वहरू, सञ्चारकर्मी मित्रहरू तथा सबै अतिथि ज्यूहरूमा सर्वप्रथम फर्चुना हेल्थ केयर प्रालिको तर्फबाट हार्दिक स्वागत गर्न चाहान्छु । यहाँहरू सबैलाई नयाँ वर्ष २०८१ को हार्दिक शुभकामना व्यक्त गर्दछु ।
नयाँ वर्षको आगमनसँगै आजको यस कार्यक्रममार्फत हामी हाम्रो नयाँ उद्योगका उत्पादनहरू बजारमा सार्वजनिक गर्न गइरहेका छौं । नयाँ वर्षको उमङ्गसँगै मुलुकको औद्योगिक क्षेत्रमा एउटा इँटा थपिएको छ । यो हाम्रो लागि गौरवमय क्षण पनि हो । मानव जीवन र स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने उपकरण अर्थात् सिरिन्ज उत्पादनमार्फत हाम्रो कम्पनी फर्चुना हेल्थ केयर प्रालि नेपालको औद्योगिक क्षेत्रमा प्रवेश गरेको छ । सिरिञ्ज, जसको आकार सानो भए पनि यसले मानव जीवनको सुरुवातदेखि बयोवृद्ध अवस्थासम्म साथ दिइरहन्छ ।
हामीले यही सिरिन्जजलगायतका स्वास्थ्य उपकरणहरूको उत्पादनमा हात हालेका छौं । यसले मुलुकको औद्योगिक क्षेत्रमा पुर्याउने योगदान त छँदैछ, गुणस्तरीय स्वास्थ्य उपकरण अभावलाई पूर्ति गर्ने र आयात प्रतिस्थापनको लक्ष्य पनि लिएको म यहाँहरूलाई अवगत गराउन चाहान्छु ।
भन्सार विभागको तथ्याङ्क अनुसार गत आर्थिक वर्षमा विश्वका १७ वटा मुलुकबाट नेपालमा ५७ करोड ८३ लाख रूपैयाँभन्दा बढीको सिरिन्ज आयात भएको देखिन्छ । यसरी एकै वर्ष ६ करोड ३७ लाख १० हजारको सङ्ख्यामा सिरिन्ज भित्रिए पनि यसको गुणस्तर परीक्षण नहुँदा स्वास्थ्यकर्मी र सेवाग्राही तथा बिरामीले दुःख पाइरहेका छन् ।
फर्चुना हेल्थ केयरले गुणस्तरमा कुनै सम्झौता गर्दैन । हामी मुलुकका लागि आवश्यक सिरिन्ज पूर्ण रूपमा उत्पादन गर्न सक्षम छौं र यसमा नेपाल सरकारलगायत नियामकीय निकायबाट र स्वास्थ्य संस्थाहरू तथा स्वास्थ्यकर्मीहरूबाट पूर्ण सहयोगको अपेक्षा गर्दछौं । हामीले विभिन्न देशबाट उच्च गुणस्तरको कच्चा पदार्थ आयात गरी सिरिन्ज उत्पादन गरिरहेका छौं र आउँदा दिनमा अन्य स्वास्थ्य उपकरणहरू पनि क्रमशः उत्पादन गर्दै जानेछौँ ।
विश्व स्वास्थ्य संगठनले तोकेको जीएमपी मापदण्ड हाम्रा लागि अनिवार्य नभए पनि हामीले यसको पूर्ण पालना गरेका छौं । यसैले हामी चाहान्छौं कि नेपालमै गुणस्तरीय सिरिन्ज उत्पादन हुन्छ भने विदेशबाट कमसल वस्तु आयातलाई अब राज्यले निरुत्साहित गर्नुपर्छ । यसका लागि म माननीय उपप्रधानमन्त्रीज्यू, उद्योग मन्त्रीज्यूलगायत सबैलाई अनुरोध गर्न चाहान्छु ।
हामीले कोभिड–१९ महामारीका बेला सिरिन्ज अभावको ठूलो समस्या बेहोरेका थियौं । कोभिडका कारण १२ हजारभन्दा बढी नेपालीको मृत्यु भएको कहालीलाग्दो तथ्याङ्क नेपाल सरकारले नै सार्वजनिक गरेको छ । महामारीको कुनै पूर्व अनुमान गर्न सकिँदैन, तर सम्भावित महामारीका लागि पूर्वतयारी भने गर्न अवश्य सकिन्छ । यसको पूर्वतयारी भनेकै स्वास्थ्यसम्बन्धी उपकरणहरू स्वदेशमै उत्पादन गर्ने र जनशक्तिको विकास गर्ने हो ।
मुलुकभर ८ हजारभन्दा बढीको सङ्ख्यामा रहेका स्वास्थ्य संस्था, ३ लाख ७ हजारभन्दा बढी दर्ता भएका स्वास्थ्यकर्मीलगायतका पूर्वाधारहरू हाम्रा सम्पत्ति हुन् । यीनलाई चुस्त राख्नुपर्छ । जसका निमित्त फर्चुना हेल्थ केयर प्रालि नेपाल सरकार र सबै स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाहरूसँग सहकार्य गर्न चाहान्छ ।
हाल नेपालमा राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत बालबालिकालाई १३ प्रकारका रोगविरुद्ध खोप उपलब्ध हुँदै आएको छ । गर्भवती महिला, ज्येष्ठ नागरिकलगायतका लागि पनि खोप उत्तिकै जरुरी छ । यस्ता क्षेत्रहरूमा गुणस्तरमा कुनै सम्झौता गर्नु हुँदैन भनेर हामी प्रतिवद्ध छौँ । यहाँहरूबाट सहयोग, सल्लाह र सुझाव पाउन सके आउँदा दिनमा कम्पनीलाई अझ सुदृढ र सक्षम रूपमा अघि बढाउन सक्ने विश्वास पनि छ ।
म लगायत यस कम्पनीका सञ्चाकहरू व्यावसायिकतामा विश्वास गर्छौँ । स्वस्थ प्रतिस्पर्धामा पनि विश्वास गर्दछौँ र राज्यले स्वदेशी उद्योगको प्रवर्द्धन गर्नुपर्छ भन्ने मान्यता राख्दछौँ ।
(नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को पूर्वध्यक्ष र लगानी वोर्डको सदस्य समेत रहेकी फर्चुना हेल्थ केयर प्रालिकी अध्यक्ष भवानी राणाले बिहीबार फर्चुना हेल्थ केयर प्रालिको समुद्घाटन समारोहमा व्यक्त गरेको मन्तव्य ।)
यो पनि पढ्नुहोस्–
आर्थिक शिथिलताकै बीचमा भवानी राणाले खोलिन नयाँ उद्योग, सिरिञ्जको आयात घटाउने लक्ष्य
FACEBOOK COMMENTS