काठमाडौं । सर्वोच्च अदालतका प्रस्तावित चारै न्यायाधीशलाई संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको छ।
शनिबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले चारै जनाको नाम अनुमोदन गरेको समितिका सभापति बोधनारायण श्रेष्ठले बताए। ‘चारै जनाको नाम संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको छ,’ सपभाति श्रेष्ठले भने।
सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारू, जनक पाण्डे र गोकर्ण डाँगीको नाम अनुमोदन भएको हो।
न्याय परिषद्ले गत असोज २ मा सर्वोच्चको न्यायाधीशका लागि उनीहरूको नाम सिफारिश गरेको थियो। बागचन्द उच्च अदालत पोखराका मुख्य न्यायाधीश हुन् भने अन्य तीनै जना उच्च अदालतका न्यायाधीश हुन्।
संसदीय सुनुवाइ समितिले अनुमोदन गरेसँगै नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिश गरिनेछ। त्यसपछि राष्ट्रपतिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गर्ने संवैधानिक व्यवस्था रहेको छ।
