काठमाडौँ । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले नेपाली कांग्रेसका कार्यकर्ताहरूलाई “जेनजी” आन्दोलनले ल्याएको परिवर्तन स्वीकार्दै पार्टीलाई नयाँ दिशामा अगाडि बढाउन आह्वान गरेका छन् ।
शनिबार आज बिहान जारी गरिएको एक सन्देशमा उनले पार्टीको नेतृत्व, संगठन र विचारमा नयाँपन ल्याउनुपर्नेमा जोड दिएका हुन् ।
कोइरालाले देशमा उत्पन्न राजनीतिक परिस्थितिको उल्लेख गर्दै “जेनजी” आन्दोलनले नयाँ सरकार गठन गर्न बाध्य पारेको र यसलाई सतर्कतापूर्वक हेर्नुपर्ने बताएका छन् । नयाँ सरकारले आम नागरिकको भरोसा जित्ने विश्वास व्यक्त गरेका छन ।
यद्यपि, भाद्र २४ गते आन्दोलनका क्रममा सार्वजनिक सम्पत्तिको लुटपाट, आगजनी र व्यक्तिमाथि भएको पाशविक व्यवहारलाई उनले सभ्य समाजमा स्वीकार्य नहुने कार्य भनेका छन् । यस क्रममा नेपाली
कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नीमाथि भएको हातपात र लुटपाटलाई “जघन्य अपराध” भन्दै कडा निन्दा गरेका छन्।
कांग्रेस नेता डा. कोइरालाले युवाहरूको भावनालाई सम्बोधन गर्न नसक्दा नै “जेनजी” आन्दोलनले दुई ठूला दललाई सत्ताबाट बाहिरिन बाध्य पारेको पनि स्वीकार गरेका छन ।
पार्टीभित्र नेतृत्व, संगठन र विचारमा नयाँपन ल्याउन देशव्यापी बहस र छलफल आवश्यक रहेको भन्दै दशैँलगत्तै देशव्यापी भ्रमणमा निस्कने घोषणा गरेका छन ।
भाद्र २४ गते जलाइएको विराटनगरको “कोइराला निवास” को घटनाप्रति दुख व्यक्त गर्दै उनले भौतिक संरचना खरानी भए पनि बीपीको विचार र लोकतान्त्रिक आन्दोलनको भावना कहिल्यै नमर्ने बताएका छन ।
FACEBOOK COMMENTS