काठमाडाैं । ग्रन्थ इलेक्ट्रिक भेइकल प्रालिले अब नेपालभित्रै ईभी स्कुटर निर्माण प्रक्रियामा लागेको घोषणा गरेको छ । काठमाडौंको बत्तीसपुतलमा रहेको कम्पनीले हाल आयातीत स्कुटर बिक्री वितरण गर्दै आइरहेकामा लगानीकर्ता पाए निकट भविष्यमा स्थानीय स्तरमै ईभी स्कुटर उत्पादन गरिने घोषणासहित इच्छुक लगानीकर्ता र रणनीतिक साझेदारको खोजीमा रहेको सूचना जारी गरेको छ ।
कम्पनीले उत्पादन गर्ने ईभी स्कुटर नेपालका विभिन्न भूभागलाई ध्यानमा राखी जस्तोसुकै उकालो पनि २ जना बोकेर सजिलै चढ्न सक्ने क्षमताका हुने दाबी गरिएको छ । उक्त स्कुटरले २४० किमिको रेन्ज दिने बताइएको छ । ईभी स्कुटरको ब्याट्री र मोटरमा ७ देखि १० वर्षसम्मको वारेन्टी हुने र नेपालमा यसको मूल्य २ लाख ८९ हजार रुपैयाँ पर्ने कम्पनीले बताएको छ ।
कम्पनीका सीईओ सुदन ढुंगेलले हाल एफडी मोटर्समार्फत ईभी स्कुटर आयात गरेर बिक्री गरिँदै आएकामा नेपालमा उत्पादन गर्न उपयुक्त रणनीतिक साझेदार, लगानीकर्ता, म्युचुअल फन्ड, भेन्चर क्यापिटल, बैंकहरुको खोजीमा रहेको बताए । उनले सुरू पुँजी ५ करोड लगानी अनुमान गरिएको र प्लान्ट स्थापनापछि पुँजी १० करोडसम्म पुग्ने अनुमान गरिएको जानकारी दिए । ईभी स्कुटर उत्पादन पेट्रोलबाट चल्नेजस्तो महँगो नहुने भएकाले पुँजी पनि खासै ठूलो नलाग्ने उनको भनाइ छ ।
उनले भने, ‘कम्पनीबाट उत्पादित ईभी स्कुटरले हिमाल, पहाड, तराई जुनसुकै र जस्तोसुकै बाटोमा पनि गुड्ने क्षमतामा बनाउने योजना छ । १० वर्षसम्मको वारेन्टी र मूल्य पनि खासै धेरै राख्ने योजना छैन । २ लाख ८९ हजार अनुमान गरेका छौं ।’
नेपालमा आफ्नो निर्माण क्षमतालाई विस्तार गरेर मात्र भविष्यमा सर्वसाधारणका लागि पनि आईपीओ जारी गरिने सीईओ ढुंगेलले बताए ।
उनले भने, ‘स्थानीय रुपमा निर्माण गरेर हामी रोजगारका अवसर सिर्जना गर्नेर्छौ र कर राजस्वमार्फत नेपालको अर्थतन्त्रमा योगदान पुर्याउनेछौं । यो वातावरणमैत्री यातायात र दिगो विकासका लागि राष्ट्रिय लक्ष्यसँग पनि मेल खान्छ । नेपालमै ईभी स्कुटर उत्पादन गरेर विदेशबाट आयातीत केही अंश घटाउने लक्ष्य हो ।’
नेपालको दुईपांग्रे विद्युतीय सवारीसाधन बजारमा नेतृत्व गर्ने लक्ष्य राखेको उक्त कम्पनीले आफूलाई आर्थिक स्रोत र रणनीतिक दृष्टिकोण दिन सक्षम लगानीकर्ता आवश्यक रहेको बताएको छ ।
FACEBOOK COMMENTS