काठमाडौं । हिमालय एयरलाइन्सले काठमाडौं–सांघाई–काठमाडौं नियमित सिधा उडान पुन: सुरु गर्ने भएको छ ।
एयरलाइन्सले असोज १२ अर्थात् सेप्टेम्बर २८ देखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र चीनको सांघाई पुडोङ अन्तर्राष्ट्रिय विमानस्थलबीच उडान सञ्चालन गर्ने जनाएको छ ।
एयरलाइन्सका अनुसार, सुरुमा उक्त गन्तव्यमा सातामा दुई उडान हुनेछन् । काठमाडौं–सांघाई उडान प्रत्येक सोमबार र शुक्रबार तथा सांघाई–काठमाडौं उडान मंगलबार र शनिबार हुनेछ ।
काठमाडौं–सांघाई उडान साँझ ६:२५ बजे प्रस्थान गरी भोलिपल्ट बिहान २ बजे सांघाई पुग्नेछ भने सांघाईबाट बिहान ३ बजे उडेको विमान बिहान ७:१० बजे काठमाडौं आइपुग्नेछ ।
यात्रुको माग र उडानमा यात्रु भरिने अवस्थाका आधारमा उडान संख्या बढाउने विषयमा समीक्षा गरिने एयरलाइन्सले जनाएको छ । एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले काठमाडौं–सांघाई उडान पुन: सञ्चालनले नेपाल र चीनबीच व्यापार, पर्यटन तथा जनस्तरको सम्बन्धलाई जोड्ने काममा योगदान गर्ने बताएका छन् ।

काठमाडौं–सांघाई–काठमाडौं उडानका टिकट हिमालय एयरलाइन्सका टिकट काउन्टर, आधिकारिक ट्राभल पार्टनर, कम्पनीको वेबसाइट तथा मोबाइल एपमार्फत बुक गर्न सकिनेछ ।
