जानकी (बाँके) । बर्दियाका राजेन्द्र थारूको टाउकोमा ‘सेफ्टी हेल्मेट’ र हातमा इन्सुलेटरसँगै केही इँटा छ । उनी ऊर्जा प्रभावकारी घर बनाउनमा व्यस्त छन् । हाल उनी नेपालगञ्ज उपमहानगरपालिका-१८ स्थित कारकाँदोका कृष्ण अधिकारीको घर बनाउने काममा खटिरहेका छन् ।
विगत १३ वर्षदेखि डकर्मीको काम गर्दै आएका राजेन्द्रलाई ऊर्जा प्रभावकारी घरबारे यसअघि केही थाहा थिएन । ‘धेरै वर्षदेखि घर बनाउने काम गर्दै आइरहेको छु, तर यो ऊर्जा प्रभावकारी घरको विषयमा मलाई थाहा थिएन,’ उनले भने, ‘नेपालगञ्जमा ऊर्जा प्रभावकारी घर बनाउन तालिम खुलेको थाहा पाएपछि म सिक्न आएको हुँ ।’
उमेरले ३० वर्षका राजेन्द्रलाई सुरूमा ‘ऊर्जा प्रभावकारी घर’ सुन्दा अनौठो लागे पनि तालिममा सहभागी भएपछि यस्तो घर बनाउन सजिलै सक्छु भन्ने लागेको छ । ‘सुरूमा त कस्तो हुन्छ जस्तो लागेको थियो तर सिक्दै जाँदा यस्तो घर बनाउन खासै गाह्रो नहुने रहेछ,’ उनले भने, ‘मलाई त हामीले बनाइरहेको घरभन्दा ऊर्जा प्रभावकारी घर बनाउन सजिलो लाग्यो । अब सबैले यस्तै घर बनाउन आवश्यक छ ।’
राजेन्द्रसँगै बर्दिया गुलरिया नगरपालिका-८, आशापुरका भगोलिया लोधले पनि तालिम लिइरहेका छन् । २२ वर्षको उमेरदेखि घर बनाउँदै आएका भगोलियासँग २५ वर्ष घर बनाउने काम गरेको अनुभव छ । तर, उनको २५ वर्षे अनुभवमा ‘ऊर्जा प्रभावकारी घर’ बनाउने अनुभव नयाँ हो ।
‘ऊर्जा दक्ष घरको विषयमा अहिले नेपाल सरकारले ल्याएको नीति ढिला भएको छ,’ उनी भन्छन्, ‘हुन त पछि आउने हाम्रो सन्तानहरूको लागि यो लाभदायक होला तर यो नीति पहिला ल्याइदिएको भए हामी यसको लाभ लिन पाउथ्यौँ ।’
बढ्दो अव्यवस्थित शहरीकरणसँगै वातावरणीय ऊर्जाको खपत न्यूनीकरण गर्ने उद्देश्यले यस्ता घर निर्माण सुरू गरिएको हो । नेपालगञ्ज उपमहानगरपालिका-१८ स्थित कारकाँदोमा उक्त ऊर्जा प्रभावकारी घर निमार्ण सुरू गरिएको नगर प्रमुख प्रशान्त विष्टले जानकारी दिए ।
वातावरणमा आएको परिवर्तनका कारण बढ्दो तापक्रम नियन्त्रण गरी ऊर्जाको खपतमा न्यूनीकरण हुने हुँदा आगामी दिनमा नगरपालिकाभित्र ऊर्जा प्रभावकारी घर निमार्ण गर्न नगरवासीहरूलाई नगर प्रमुख विष्टले आग्रह गरे ।
‘नेपालगञ्जमा कृष्ण अधिकारी ज्यूले ऊर्जा प्रभावकारी घर निमार्ण गर्दै हुनुहुन्छ । यहाँको मौसमका लागि यस्ता घर निमार्ण अत्यन्तै आवश्यक छ,’ नगर प्रमुख विष्टले भने, ‘उहाँले मात्र हैन अब अरूले पनि नयाँ घर बनाउँदा यस्तै घर निमार्ण गर्न आग्रह गर्दछु । यसका लागि नगरपालिकाले केही प्रतिशत छुटको व्यवस्था गर्नेछ ।’
उनले नेपालगञ्ज ‘हिटवेभ’ र शीतलहरको प्रकोपले प्रताडित शहर भएकाले यस्तो प्रविधिको प्रयोग गरी घर निर्माण गर्दा नक्सापास वा अन्य सुविधा उपलब्ध गराउने गरी भवन आचारसंहिता निर्माण गर्ने तयारीमा रहेको जानकारी दिए ।
अव्यवस्थित शहरीकरणका कारण वातावरणमा परेको प्रभावलाई कम गर्दै प्रकृतिक रूपमा वातावरण सन्तुलन गर्न ऊर्जा प्रभावकारी घर निर्माण थालिएको घर धनी कृष्ण अधिकारी बताउँछन् । गर्मीमा अत्यधिक तातो र हिउँदमा अत्यधिक जाडो हुने भएकोले दुवै अवस्थामा वातारण सन्तुलन राख्ने ‘डिजाइन’ तयार पारेर घर निर्माण सुरू गरिएको ‘बिल्डिङ इनर्जी इफिसियन्सी इन नेपाल’ का ‘बिल्डिङ मेटेरियल एक्सपर्ट इन्जिनियर’ सानुबाबु डंगोलले जानकारी दिए ।
उक्त संस्थाका परियोजना इन्जिनियर अभिशेष कर्णका अनुसार युरोपियन युनियनको अर्थिक सहयोगमा नेपालको बागमती, गण्डकी र लुम्बिनी प्रदेशका ६० पालिकामा उर्जा प्रभावकारी घर निर्माण परियोजना लागू हुनेछ ।
घर निर्माण गर्दा बाहिरको तातो भित्र नजाने र भित्रको तापमान यथास्थितिमै रहने गरी घर निर्माण गरिने भएकाले पहिलो चरणमा बाँके र बर्दियामा घर बनाउने डकर्मीलाई तालिम दिइएको उनले बताए । यसका लागि तयार पारिएको डिजाइन तथा प्रविधि प्रयोग गरेर घर निर्माण गर्दा तातो चिसो बनाउन लाग्ने ऊर्जाको खपत हुने र घर पनि प्राकृतिक रूपमै वातावरणमैत्री हुने दाबी गरिएको छ ।
FACEBOOK COMMENTS