नवलपरासी । हुन्डाइ ब्राण्डको गाडी नेपालमै एसेम्बल गरेर लक्ष्मी ग्रुपले नेपालको औद्योगिक क्षेत्रमा नयाँ आयाम थपेको छ ।
मुलुक यतिबेला आर्थिक जटिलताबाट गुज्रिरहेको भए पनि लक्ष्मी ग्रुपले ठूलो लगानीमा कार एसेम्बल प्लान्ट स्थापना गर्नाका साथै सफलतापूर्वक उत्पादन समेत थालेको छ । नवलपरासी पश्चिमको रामग्राम नगरपालिका–६ मा १० बिघाहा क्षेत्रफलमा स्थापना गरिएको एसेम्बलिङ प्लान्टबाट कम्पनीले गाडी उत्पादन थालेको हो ।
लक्ष्मी ग्रुपअन्तर्गतको ‘लक्ष्मी मोटर कर्पोरेसन’ले सञ्चालन गरेको सो प्लान्टबाट उत्पादन गरिएको भेन्यु मोडेलको कार समेत हिजो शुक्रबार प्रधानमन्त्री पुष्कमल दाहाल ‘प्रचण्ड’बाट सार्वजनिक गरिएको छ । हिजो यहाँ आयोजना गरिएको विशेष कार्यक्रममार्फत प्रधानमन्त्री प्रचण्ड र हुन्डाइ मोटर इन्डिया, लिमिटेडका प्रबन्ध निर्देशक उनसू किमले संयुक्त रूपमा प्लान्टको उद्घाटन गरे । हुन्डाइ दक्षिण कोरियाको बहुर्राष्ट्रिय गाडी उत्पादक कम्पनी हो । नेपालमा अन्तर्राष्ट्रिय ब्रान्डको चारपांग्रे गाडी एसेम्बल गर्ने लक्ष्मी मोटर कर्पोरेसन पहिलो कम्पनी भएको छ ।
प्लान्ट उद्घाटनपछि प्रधानमन्त्री प्रचण्डले नयाँ उद्योग सञ्चालनमा आएसँगै नेपालमा औद्योगिक वातावरणका निम्ति स्वदेशी एवम् विदेशी लगानीकर्ताहरूलाई थप आकर्षित गर्न सकिने बताए । औद्योगिकीकरणसँगै आयात प्रतिस्थापन हुने र सयौँ दक्ष एवम् अर्धदक्ष कामदारहरूका निम्ति रोजगारी सृजना गर्ने उनको विश्वास छ । नेपालमै एसेम्बलिङ गर्दा उपभोक्ताले सहुलियत मूल्यमा सवारीसाधन खरिद गर्न पाउनाका साथै आन्तरिक स्रोत एवम् विद्युतको खपत बढनाका साथै स्थानीय विकासमा साझेदारी र कूल गार्हस्थ उत्पादनमा समेत सकारात्मक योगदान पुग्ने विश्वास प्रधानमन्त्री प्रचण्डको छ ।
प्लान्ट उद्घाटनसँगै सोही प्लान्टमा एसेम्बल गरी उत्पादन गरिएको पहिलो कार ‘भेन्यु’ मोडेलको कार समेत सार्वजनिक गरिएको छ भने अन्य मोडेलहरू पनि उत्पादन गर्दै जाने कम्पनीले जनाएको छ । दोस्रो चरणमा कम्पनीले क्रेटा र आई–१० कार एसेम्बल गरी आगामी डिसेम्बरसम्ममा सार्वजनिक गर्ने लक्ष्य राखेको लक्ष्मी ग्रुपका कार्यकारी निर्देशक अञ्जन श्रेष्ठले बताए । विश्व प्रसिद्ध ब्रान्ड हुन्डाइका कारहरू अब नेपालमै एसेम्बल हुने भएपछि केही सस्तो मूल्यमा प्राप्त गर्न सकिने भन्दै उपभोक्ताहरूमा समेत खुसी छाएको उनको भनाइ छ ।
नेपालमा लक्ष्मी ग्रुपले डेरी, चक्लेट र स्टिलको उद्योग हुँदै पछिल्लो समय हुन्डाइ ब्राण्डका गाडी आयात गरी बिक्री गर्ने तथा नेपालमै एसेम्बल गर्नेसम्मको उद्योग सञ्चालन गरेको छ । आफ्नो काममा एकपछि अर्को सफलता हासिल गर्दै आएको लक्ष्मी ग्रुप देशकै ठूलो रोजगारदाता समेत बन्न सफल भएको छ ।
हुन्डाइ मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता लक्ष्मी ग्रुपअन्तर्गतकै लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालि हो । अहिले कार एसेम्बल तथा उत्पादन गर्ने लक्ष्मी मोटर कर्पोरेसन पनि यही ग्रुपअन्तर्गतकै कम्पनी हो । ६ महिनाअघि लक्ष्मी मोटर कर्पोरेसनले भेन्यूका दुईवटा सीकेडी परीक्षण उत्पादनका लागि ल्याएको थियो । त्यसपछि चार महिनाअघि कम्पनीले एकैपटकमा भेन्यू एसेम्बल गर्न एक सयभन्दा बढी सीकेडी किट आयात गरेको थियो । हुन्डाइ मोटर कर्पोरेसनले सन् २०२३ डिसेम्बर अन्तिम साता कोरिया तथा भारतबाट सीकेडी आयात गरेको थियो । त्यसयता ठूलै सङ्ख्यामा भेन्यूको सीकेडी आयात भइसकेको कम्पनीले जनाएको छ ।
लक्ष्मी मोटर कर्पाेरेसनले ९९८ सीसीको भेन्यू एस (ओ), ११९७ सीसीको भेन्यू एस १.२ एमटी र ११९७ सीसीको भेन्यू एसएक्स १.२ एमटी मोडलका सीकेडी आयात गरेर एसेम्बल थालेको हो । एसेम्बल भएर बिक्रीमा आउने भेन्यू पेट्रोल इन्जिनयुक्त रहेको कम्पनीले जनाएको छ । लक्ष्मी मोटर कर्पोरेसनले नवलपरासीमा स्थापना गरेको सो एसेम्बल प्लान्टमा एसेम्बली लाइनदेखि उत्पादित कार परीक्षण गर्ने उपकरणसमेत जडान गरेको छ ।
लक्ष्मी समूहले वि.स. २०७६ मा पाँच अर्ब १० करोड रूपैयाँ लागतमा एसेम्बल उद्योग दर्ता गरेको थियो । नवलपरासीमा एसेम्बल उद्योग रहने गरी लक्ष्मी मोटर कर्पोरेसनले वार्षिक ८ हजार चारपांग्रे गाडी उत्पादन गर्ने लक्ष्य राखेको छ । यस्तै, पहिलो चरणमा यो वर्ष १५० युनिट कार उत्पादन गर्ने कम्पनीले जनाएको छ ।
यो पनि पढ्नुहोस्–
हुन्डाइको एसेम्बलिङ प्लान्ट शुभारम्भपछि प्रधानमन्त्रीले भने– लगानी सुरक्षित गर्न सरकार प्रतिबद्ध छ
FACEBOOK COMMENTS