काठमाडौं । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत वडा अधिवेशनको दोस्रो दिनसम्म ७३ जिल्लाका ६ हजार १३२ वडामा अधिवेशन तथा निर्वाचन प्रक्रिया सम्पन्न भएको छ ।
केन्द्रीय निर्वाचन समितिका अनुसार असोज ३ गतेदेखि सुरु भएको वडा अधिवेशन आज असोज ४ गते दोस्रो दिन पनि उत्साहजनक रूपमा जारी रहेको छ ।
निर्वाचन समितिले ताप्लेजुङदेखि कञ्चनपुरसम्मका ७३ जिल्लाका ६ हजार १३२ वडामा वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयनका लागि अधिवेशन तथा निर्वाचन सम्पन्न भएको हो ।
निर्वाचन सम्पन्न भएका जिल्लामा ताप्लेजुङ, पाँचथर, इलाम, संखुवासभा, तेह्रथुम, धनकुटा, भोजपुर, खोटाङ, सोलुखुम्बु, ओखलढुंगा, उदयपुर, झापा, मोरङ, सुनसरी, सप्तरी, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, दोलखा, रामेछाप, सिन्धुली, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, चितवन, मकवानपुर, भक्तपुर, ललितपुर, काठमाडौं, गोरखा, लमजुङ, तनहुँ, कास्की, मनाङ, मुस्ताङ, पर्वत, स्याङ्जा, म्याग्दी, बागलुङ, नवलपुर, परासी, रुपन्देही, कपिलवस्तु, पाल्पा, अर्घाखाँची, गुल्मी, रुकुम पूर्व, रोल्पा, प्युठान, दाङ, बाँके, बर्दिया, रुकुम पश्चिम, सल्यान, डोल्पा, जुम्ला, मुगु, हुम्ला, कालिकोट, जाजरकोट, दैलेख, सुर्खेत, बाजुरा, बझाङ, डोटी, अछाम, दार्चुला, बैतडी, डडेल्धुरा, कञ्चनपुर र कैलाली रहेका छन्।
केन्द्रीय निर्वाचन समितिका अनुसार रसुवा, नुवाकोट र धादिङ बाहेक सप्तरी क्षेत्र नम्बर २ र ४, सिरहा, मोरङ क्षेत्र नम्बर ६, रौतहट क्षेत्र नम्बर १, सर्लाही क्षेत्र नम्बर २ तथा परासी क्षेत्र नम्बर २ लगायतका स्थानमा वडा अधिवेशन हुन बाँकी छ । त्यस्तै, आज सम्पन्न हुन नसकेका अन्य वडाको अधिवेशन पनि असोज ५ गते सोमबार निरन्तर सञ्चालन हुने समितिले जनाएको छ ।

कांग्रेसको महाधिवेशन कार्यतालिकाअनुसार वडा र पालिका अधिवेशन सम्पन्न भएपछि असोज ७ मा जिल्ला र असोज १० मा प्रदेश अधिवेशन हुनेछ । त्यसपछि असोज १६–१९ मा काठमाडौंमा १५औँ महाधिवेशन आयोजना गर्ने कार्यतालिका छ ।