इटहरी । इटहरी बजारको मुख्यचोकमा रहेको १० तले व्यावसायिक भवनमा आगो लागेको छ ।
सेन्ट्रल प्लाजा नामले परिचित सो भवनमा एक्कासि आगो लागेपछि भवनभित्र रहेका मानिसलाई बाहिर ल्याउने र आगो निभाउने काम भइरहेको छ । भवनको बीच भागमा आगो लागेकाले माथिल्लो तलाबाट उद्धार कार्य भइरहेको तथा भवनभित्र फसेका मानिस उद्धारको पर्खाइमा रहेको प्रहरीले जनाएको छ ।
आगो लागेको सूचना पाउनासाथ नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरीसहित स्थानीय बासिन्दा उद्धार कार्यमा जुटिरहेका छन् । बिहान करिब ९ः३० बजे भवनको पाँचौँ तलामा आगो लागेपछि अहिले ग्यासका सिलिण्डर पड्किरहेको र फसेका मानिसलाई डोरीको सहायताबाट बाहिर ल्याउने काम भइरहेको छ ।
भवनभित्र फसेका मानिसको सकुशल उद्धारसहित यथासक्य छिटो आगो नियन्त्रण गर्न सघाउ पुर्याउने उद्देश्यले अहिले नेपाली सेनाको हेलिकोप्टर त्यसतर्फ पठाइएको गृह मन्त्रालयले जनाएको छ ।
प्लाजामा भएको आगलागीमा फसेका १६ जनाको उद्धार गरिएको छ । उद्धार हुनेहरुमा ११ पुरुष र ५ महिला छन् ।
FACEBOOK COMMENTS