काठमाडौं । नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक सुबिसु लिमिटेडले नेपालमै पहिलोपटक वाइफाइ–सिक्स प्रविधिमा आधारित नयाँ पुस्ताको इन्टरनेट सेवा सार्वजनिक गरेको छ ।
कम्पनीले यससँगै इन्टरनेट सुरक्षालाई मुख्य सेवामै समावेश गर्दै ‘सुरक्षित इन्टरनेट–सुबिसु सुरक्षा’ नामक नयाँ सेवा पनि शुभारम्भ गरेको जनाएको छ ।
कम्पनीका अनुसार नेपालमा वाइफाई–सिक्स प्रविधि उपलब्ध भए पनि सुरक्षालाई विशेष प्राथमिकता दिँदै उच्चस्तरको सुरक्षित इन्टरनेट अनुभव प्रदान गर्ने अवधारणा भने पहिलोपटक ल्याइएको हो ।
सुबिसुले सार्वजनिक गरेको वाइफाई–सिक्स सेवाले उच्च गतिको इन्टरनेट, फराकिलो वाइफाइ कभरेज तथा एकै समयमा धेरै डिभाइस सहज रूपमा कनेक्ट गर्ने क्षमता दिने जनाएको छ । यसले लो–लेटेन्सी सुनिश्चित गर्दै सहज अनलाइन अनुभव प्रदान गर्नुका साथै डिभाइसको ब्याट्री बचतमा समेत सहयोग पुर्याउने कम्पनीको दाबी छ ।
कम्पनीले ल्याएको सुबिसु सुरक्षा सेवाले प्रयोगकर्तालाई हानिकारक वेबसाइट, साइबर जोखिम तथा अनधिकृत पहुँचबाट जोगाउने बताएको छ । यसले व्यक्तिगत गोपनीयता र डाटा सुरक्षामा सहयोग गर्दै परिवार तथा व्यावसायिक प्रयोजनका लागि सुरक्षित ब्राउजिङ वातावरण तयार गर्ने उल्लेख गरिएको छ ।

सुबिसु लिमिटेड का उपाध्यक्ष रामकृष्ण परियारले डिजिटल युगमा केवल तीव्र गतिको इन्टरनेट मात्र पर्याप्त नहुने बताए । उनले ग्राहकलाई तीव्र गतिको मात्र नभई सुरक्षित इन्टरनेट अनुभवसमेत प्रदान गर्ने लक्ष्यसहित सेवा ल्याइएको जानकारी दिए ।

उनका अनुसार वाइफाइ–सिक्स र सुरक्षित इन्टरनेट को संयोजनमार्फत नेपालमा इन्टरनेट सेवाको नयाँ मापदण्ड स्थापित गर्ने लक्ष्य लिइएको छ, जहाँ गति, स्थिरता र सुरक्षा एकैसाथ उपलब्ध हुनेछन् ।

कम्पनीले ग्राहकको आवश्यकता र स्तरलाई ध्यानमा राख्दै सेवा तीन फरक प्याकेजमा उपलब्ध गराएको जनाएको छ । ती प्याकेजहरूमा स्मार्ट वाइफाइ–सिक्स, प्रो वाइफाइ–सिक्स र एलिट वाइफाइ–सिक्स रहेका छन् । कम्पनीले यो पहललाई नवप्रवर्तन, ग्राहक सुरक्षा तथा भविष्यमुखी डिजिटल सेवाप्रतिको आफ्नो प्रतिबद्धताको निरन्तरता भएको जनाएको छ ।