पोखरा । पोखरा उद्योग वाणिज्य संघको उद्योग उपाध्यक्ष पदमा युवा व्यवसायी सौगात थापाको जित पक्का भएको दाबी गरिएको छ।
संघको ३६औँ महाधिवेशन तथा ७२औँ वार्षिक अधिवेशनअन्तर्गत उद्योग उपाध्यक्ष पदमा थापाले उम्मेदवारी दिएसँगै उनको पक्षमा बलियो माहोल बनेको हो।
महाधिवेशनको शनिबार औपचारिक उद्घाटन भएसँगै संघको नयाँ नेतृत्व चयनका लागि आइतबार भदौ २१ गते मतदान हुँदैछ।
संघको कार्यसमितिमा दुई कार्यकाल सदस्य भएर काम गरिसकेका थापा पोखराको प्रतिष्ठित व्यावसायिक घराना अंशुभारा ग्रुपका प्रबन्ध निर्देशक हुन्। पोखरा ट्रेड मल, लेकसाइडस्थित होटल बगैँचालगायत विभिन्न क्षेत्रमा उनको व्यावसायिक लगानी तथा सक्रियता रहेको छ।
‘नयाँ सोच र नयाँ अवसर, समृद्ध व्यवसायको आधार’ भन्ने मूल नारासहित चुनावी मैदानमा उत्रिएका थापाले उद्योगमैत्री नीति निर्माण, संघको गरिमा अभिवृद्धि तथा उद्योगी–व्यवसायीको हकहित संरक्षणलाई आफ्नो प्रमुख प्राथमिकतामा राखेका छन्।

युवा उद्यमशीलतालाई विशेष प्राथमिकता दिएका थापाले पोखराका युवा व्यवसायीलाई प्रोत्साहन र उत्प्रेरणा प्रदान गर्दै व्यवसाय विस्तारका लागि अनुकूल वातावरण निर्माण गर्न आफूले उम्मेदवारी दिएको बताएका छन्।

थापाले अग्रज तथा सम्पूर्ण उद्योगी–व्यवसायीबाट अमूल्य मत प्राप्त गरी विजयी हुनेमा आफू पूर्ण विश्वस्त रहेको बताए।