काठमाडौं । नेपालकै पहिलो र एकमात्र शतप्रतिशत भिट्रिफाइड टाइल्स लामिनार टाइल्सको उत्पादक लुम्बिनी सेरामिक्स लिमिटेडले नेपाली सर्वसाधारणका लागि प्राथमिक शेयर निष्कासन गर्ने घोषणा गरेको छ ।
कम्पनीले विद्यमान धितोपत्र दर्ता तथा निष्कासनसम्बन्धी नियमावली र धितोपत्र निष्कासन तथा बाँडफाँडसम्बन्धी निर्देशिकाहरूमा भएको व्यवस्थाबमोजिम नियमनकारी निकायहरूबाट आवश्यक स्वीकृति प्राप्त गरी आउँदो ६ महिनाभित्र आईपीओ जारी गर्ने लक्ष्य राखेको जानकारी दिएको हो ।
शेयर निष्कासन कार्यका लागि शेयर निष्काशन तथा बिक्री प्रबन्धकका रूपमा नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको पनि कम्पनीले बताएको छ ।
गत साता भएको सो सम्झौतामा लुम्बिनी सेरामिक्स लिमिटेडको तर्फबाट कम्पनीका सञ्चालक श्यामसुन्दर खेतान तथा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिषनारायण जोशीले हस्ताक्षर गरेका थिए ।
‘लामिनार टाइल्सलाई शतप्रतिशत भिट्रिफाइड टाइल्स ब्रान्डका रूपमा बजारमा व्यापक रूपमा रूचाइएको छ,’ कम्पनीका अध्यक्ष सुब्रत धितालले भने, ‘हामीलाई विश्वास छ कि यो आईपीओले हाम्रो व्यवसाय विस्तारलाई थप गति दिनेछ । गुणस्तर र नवीनतामा निरन्तर सुधार गर्दै औद्योगिक व्यवस्थापनलाई सुदृढ बनाउने हाम्रो यात्रामा यो एउटा महत्त्वपूर्ण कोसेढुंगा सावित हुनेछ ।’
उत्पादनमार्फत नेपाली उपभोक्ताहरूका लागि अन्तर्राष्ट्रिय गुणस्तरको मापदण्ड पूरा गर्ने, विविध विकल्पहरू प्रदान गर्ने र उच्च गुणस्तरको टाइल्सहरू उपलब्ध गराउने मुख्य उद्देश्यका साथ कम्पनीले गत वर्षदेखि सञ्चालन थालेको हो ।
बर्दियाको गुलरियास्थित साढे १२ बिगाह जमिनमा फैलिएको युरोपेली गुणस्तरको अत्याधुनिक प्रविधियुक्त उत्पादन केन्द्रबाट लेमिनार टाइल्सको उत्पादन भइरहेको छ ।
करिब ९९.९२ प्रतिशतसम्मको वाटर प्रुफ लेमिनार टाइल्स उच्चस्तरीय उत्पादनको प्रक्रिया र कच्चा पदार्थको प्रयोगका कारण सेरामिकलगायत अन्य टाइलको तुलनामा तीन गुणासम्म बढी टिकाउ क्षमताका छन् ।
FACEBOOK COMMENTS