काठमाडौं । मुक्तिनाथ क्यापिटल लिमिटेड र गर्जाङ उपत्यका हाइड्रोपावर लिमिटेडबीच साधारण शेयर (आईपीओ) निष्कासन सेवासम्बन्धी सम्झौता भएको छ ।
सम्झौताअनुसार मुक्तिनाथ क्यापिटलले सार्वजनिक रूपमा शेयर निष्कासन गर्ने प्रक्रियामा प्रबन्धकको भूमिका निर्वाह गर्नेछ ।
एक कार्यक्रमका बीच गर्जाङ उपत्यका हाइड्रोपावरका तर्फबाट अध्यक्ष अरुणकुमार सुवेदी र मुक्तिनाथ क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कवीन्द्रध्वज जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरे ।
गार्जाङ उपत्यका हाइड्रोपावरले आफ्नो जारी पुँजी ५० करोड रुपैयाँ रकमको २०% प्रतिशतले हुन आउने अर्थात् १० करोड रकम बराबरको १०० रुपैयाँ अङ्कित दरमा १० लाख कित्ता साधारण शेयर सर्वसाधारणहरूलाई बिक्री गर्न लागेको हो । निष्कासनकर्ता कम्पनीले नियामक निकायहरूबाट आवश्यक स्वीकृति प्राप्त गरेपछि सम्झौतापत्रअनुसार शेयर निष्कासन प्रक्रिया अघि बढाइनेछ ।
गार्जाङ उपत्यका हाइड्रोपावर २०६० पुस २१ मा प्राइभेट लिमिटेड कम्पनीको रूपमा स्थापति गरिएको थियो र २०७० चैत २४ मा पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण गरिएको हो । रामेछाप जिल्लामा अवस्थित कम्पनीको २.८३ मेगावाट क्षमताको रन–अफ–दी–रिभर प्रकारको चकेखोला जलविद्युत् आयोजना सञ्चालनमा छ, जुन आयोजनाले २०७४ मङ्सिर २८ देखि व्यावसायिक उत्पादन सुरू गरिसकेका छन् ।
FACEBOOK COMMENTS