काठमाडौँ । अमेरिकाले इरानविरुद्ध सुरु गरेको युद्धलाई दुई महिना पूरा भएको छ। फेब्रुअरी २८ बाट सुरु भएको यो संघर्षलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सुरुवातमा छोटो र निर्णायक भनेका थिए, तर अहिले अवस्था उल्टो देखिएको छ ।
युद्ध औपचारिक रूपमा रोकिएको जस्तो देखिए पनि पूर्ण रूपमा अन्त्य भएको छैन । यस अवधिमा इरानका ३ हजार ६ सयभन्दा बढी मानिसको ज्यान गएको छ, जसमा १ हजार ७ सयभन्दा बढी सर्वसाधारण छन् ।
अन्तर्राष्ट्रिय मुद्रा कोषका मुख्य अर्थशास्त्री पियरे ओलिभियर गोरिन्शासले चेतावनी दिँदै युद्ध लम्बिएर तेलको मूल्य उच्च रहिरहे विश्व आर्थिक वृद्धिदर करिब २ प्रतिशतसम्म झर्न सक्ने चेतावनी दिएका छन्, जसलाई सामान्यतया विश्व मन्दीको संकेत मानिन्छ ।
कोषका अनुसार युद्धअघि यस वर्ष विश्वव्यापी मुद्रास्फीति ४.१ प्रतिशतबाट घटेर ३. ८ प्रतिशत पुग्ने अनुमान गरिएको थियो । तर अहिले यो ४.४ प्रतिशतसम्म पुग्ने देखिएको छ । अमेरिकी अर्थशास्त्री लिण्डा बिल्म्सका अनुसार यो युद्धमा अमेरिकाले करिब १ ट्रिलियन डलर खर्च गरेको अनुमान छ, जबकि अमेरिकी सरकारले भने २५ अर्ब डलर खर्च भएको जनाएको छ ।

यस युद्धबाट चीन र रुसलाई फाइदा पुगेको देखिएको छ। चीनले पहिले नै तेलको भण्डारण बढाएको र वैकल्पिक ऊर्जामा लगानी गरेका कारण तुलनात्मक रूपमा बलियो अवस्थामा छ । साथै, अमेरिकाको छवि कमजोर हुँदा चीनलाई कूटनीतिक लाभ भएको छ । चीनका तेल तथा ग्यास कम्पनीहरूले पनि ठूलो नाफा कमाइरहेका छन् । रिपोर्टअनुसार ६ ठूला कम्पनीले यस वर्ष ९४ अर्ब डलरसम्म आम्दानी गर्न सक्ने अनुमान छ । रुसले पनि तेल र मलको मूल्य बढ्दा बढी आम्दानी गरिरहेको छ । तेल आपूर्ति बढाउन अमेरिकाले केही समयका लागि रुसमाथिको प्रतिबन्ध खुकुलो बनाउँदा उसलाई थप लाभ पुगेको छ । अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीका अनुसार मार्चमा रुसको ऊर्जा आम्दानी दोब्बर भएर १९ अर्ब डलर पुगेको छ ।

विश्लेषकहरूले यो युद्धमा स्पष्ट विजेता कोही नभएको बताएका छन् । ब्रुकिङ्स संस्थाका मेलानी सिसनका अनुसार अमेरिकाले पनि रणनीतिक रूपमा ठूलो उपलब्धि हासिल गर्न सकेको छैन । यसको असर इरान, लेबनान, खाडी देशहरूदेखि भारतसम्म विश्वभरका जनतामा परेको छ।

इरान सरकारले आन्तरिक विरोधमाथि कडाइ बढाएको छ। यस वर्षको सुरुदेखि अहिलेसम्म ६ सयभन्दा बढीलाई मृत्युदण्ड दिइएको छ । देशमा आठ सातादेखि इन्टरनेट अवरुद्ध छ र अर्थतन्त्र कमजोर बन्दै गएको छ, जसका कारण रोजगारी गुम्ने र गरिबी बढ्ने अवस्था देखिएको छ । रिपोर्टअनुसार इजरायलले लेबनानको करिब १५ प्रतिशत भूभाग नियन्त्रणमा लिएको छ र हिजबुल्लाह कमजोर नहुँदासम्म उक्त क्षेत्रलाई सुरक्षा क्षेत्रका रूपमा राख्ने योजना बनाएको छ । यस क्षेत्रमा लितानी नदीसम्म फैलिएको भूभाग समेटिएको छ । फेब्रुअरीसम्म नाजुक युद्धविराम कायम रहे पनि इरानका सर्वोच्च नेताको हत्या भएपछि अवस्था बिग्रिएको थियो । त्यसपछि हिजबुल्लाहले आक्रमण सुरु गरेपछि इजरायलले हवाई तथा स्थलगत कारबाही तीव्र बनाएको हो । लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार मार्च २ यता २ हजार ५ सयभन्दा बढी मानिसको ज्यान गएको छ । स्याटेलाइट तस्बिरहरूले इजरायलले गाजामा अपनाएको जस्तै रणनीति अपनाउँदै गाउँहरू ध्वस्त पारिरहेको देखाएका छन् । यसका कारण दक्षिणी लेबनानबाट करिब ६ लाख मानिस विस्थापित भएका छन्। इजरायलले सुरक्षा खतरा हटेपछि मात्र उनीहरूलाई फर्किन दिने जनाएको छ ।
खाडी क्षेत्रका देशहरू पनि यस युद्धबाट प्रभावित भएका छन् । संयुक्त अरब इमिरेट्समा इरानले ड्रोन र क्षेप्यास्त्र आक्रमण गरेपछि ठूलो क्षति पुगेको छ । होर्मुज जलडमरू बन्द हुँदा इराक, कतार र कुवेतको अर्थतन्त्रमा नकारात्मक असर परेको छ । यी देशहरू तेल र ग्यास निर्यातका लागि सोही मार्गमा निर्भर छन् । अन्तर्राष्ट्रिय मुद्रा कोषले यी देशहरूको आर्थिक वृद्धिदर घट्ने र केहीको अर्थतन्त्र संकुचनमा जाने अनुमान गरेको छ ।
युद्धका कारण अमेरिकामा इन्धन, हवाई यात्रा र सेवाहरू महँगा भएका छन्। फेब्रुअरीमा २. ४ प्रतिशत रहेको मुद्रास्फीति मार्चमा ३. ३ प्रतिशत पुगेको छ। उपभोक्ता विश्वास पनि घट्दै गएको छ । विश्लेषकहरूका अनुसार अमेरिकाको अर्थतन्त्र अझै तेलमा निर्भर रहँदा नवीकरणीय ऊर्जामा कम लगानी हुनु कमजोरीका रूपमा देखिएको छ ।
अन्तर्राष्ट्रिय मुद्रा कोषले विश्व आर्थिक वृद्धिदरको अनुमान ३. ३ प्रतिशतबाट घटाएर ३. १ प्रतिशतमा झारेको छ । साथै, खाद्यान्नको मूल्य पनि बढ्दा कृषिमा निर्भर देशहरू बढी प्रभावित भएका छन् । युद्ध छिटो अन्त्य गर्ने वाचा गरेका ट्रम्पका लागि यो संघर्ष चुनौतीपूर्ण बनेको छ । इरान नझुकेको र युद्ध अन्त्य नभएको अवस्थामा उनको लोकप्रियता घटेर ३७ प्रतिशतमा झरेको देखिएको छ । इजरायलका प्रधानमन्त्रीलाई सुरुवातमा केही रणनीतिक लाभ देखिए पनि अहिले स्पष्ट जित नदेखिएको त्यहाँका विश्लेषकहरूको भनाइ छ ।
यता इरानको सत्ता पनि प्रभावित भएको छ, तर नयाँ नेतृत्व अझ आक्रामक रूपमा अघि बढिरहेको छ। साथै, होर्मुज जलडमरूमा नियन्त्रण देखाउँदै इरानले अन्तर्राष्ट्रिय दबाब सिर्जना गर्ने क्षमता पनि प्रदर्शन गरेको छ ।