काठमाडौँ । निरन्तर आक्रमणका बाबजुद इरानको हतियार क्षमता अझै आधा भन्दा बढी सुरक्षित रहेको दाबि गरिएको छ ।
अमेरिकी गुप्तचर निकायलाई उद्धृत गर्दै सार्वजनिक गरिएको उक्त प्रतिवेदनमा इरानसँग हजारौँ ड्रोन रहेको र तीमध्ये झन्डै आधा प्रयोगका लागि तयार अवस्थामा रहेको उल्लेख छ ।
यो विवरण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको इरानको सैन्य क्षमता धेरै हदसम्म कमजोर भइसकेको दाबीभन्दा फरक देखिएको छ । यसअघि अमेरिकी रक्षामन्त्री पिट हेगसेथले पनि इरानका मिसाइल तथा ड्रोन आक्रमणमा उल्लेख्य कमी आएको बताएका थिए ।
रिपोर्ट अनुसार इरानसँग अझै पनि ५० प्रतिशत मिसाइल लन्चर सुरक्षित रहेको दाबि गरिएको छ । त्यस्तै अमेरिकी रक्षामन्त्री हेगसेथले ९० प्रतिशत ड्रोन क्षमता कम भएको दाबि गरे पनि इरानसँग अझै आफ्नो क्षमताको आधा भन्दा बढी ड्रोन आक्रमण गर्ने क्षमता बाँकी रहेको बताइएको छ ।
यसैबीच इरानी सेनाले आफ्नो पूर्वाधारमाथि आक्रमण बढे कडा जवाफ दिने चेतावनी दिएको छ । सेनाका प्रवक्ताले पुल, विद्युत् गृह वा ऊर्जा संरचनामा आक्रमण भए मध्यपूर्व क्षेत्रमा रहेका विरोधीका आधारस्थल लक्षित गरिने बताएका छन् ।

उनले अमेरिकी सैन्य उपस्थिती भएका अन्य देशहरू पनि यसबाट प्रभावित हुन सक्ने चेतावनी दिएका छन् ।
