जाजरकोट । जाजरकोटको नलगाड नगरपालिका–८ मालुवास्थित भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडकखण्डमा अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन् ।
शनिबार बिहान रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–११ राडिबाट जाजरकोटको नलगाड नगरपालिका–१२ तल्लुबगरतर्फ जाँदै गरेको लु.प्र.०१–००१ ह ०५२९ नम्बरको अटो अनियन्त्रित भई सडकबाट करिब ६५ मिटर तल खसेको थियो ।
दुर्घटनामा नलगाड नगरपालिका–९ घरङ्गाका १७ वर्षीय सन्तोष विक र ५५ वर्षीय रमेश विकको मृत्यु भएको छ । उपचारका लागि नगर अस्पताल दल्ली पुर्याइएका उनीहरूलाई चिकित्सकले दिउँसो १२:२० बजे मृत घोषणा गरेका थिए ।
दुर्घटनामा तीन जना गम्भीर घाइते भएका छन् । उनीहरूको उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परेको अटो घटनास्थलमै रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
