काठमाडौ । काठमाडौंको माछापोखरी चोकमा आपसी विवादका क्रममा झगडा हुँदा एक जनाको मृत्यु भएको छ । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ ।
प्रहरीका अनुसार काठमाडौं महानगरपालिका– १६ स्थित माछापोखरी चोकको सडकखण्डमा शुक्रबार राति करिब १२:१२ बजे हिँडिरहेका कञ्चनपुरको कृष्णपुर नगरपालिका– ७ घर भई हाल काठमाडौंको बल्खुमा बस्दै आएका २० वर्षीय अर्जुन ताम्राकार र नुवाकोटको पञ्चकन्या गाउँपालिका– ४ घर भई हाल काठमाडौंको तारकेश्वर नगरपालिका– ९, मनमैजुमा बस्दै आएका २० वर्षीय सुवाश तामाङबीच विवाद भएको थियो ।
विवादले झगडाको रूप लिएपछि तामाङ लडेर अचेत अवस्थामा फेला परेका थिए । उनलाई तत्काल उपचारका लागि बालाजुस्थित सिल्भरलाइन अस्पताल लगिएको थियो । उपचारकै क्रममा शनिबार दिउँसो १:३० बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनापछि प्रहरी वृत्त बालाजुबाट खटिएको टोलीले कुटपिटमा संलग्न रहेको आरोपमा ताम्राकारलाई नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।