काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरअन्तर्गत सञ्चालित २२ माध्यमिक र १४ आधारभूत सामुदायिक विद्यालयका प्रधानाध्यापक पदका लागि दरखास्त आह्वान गरेको छ ।
रिक्त रहेका तथा पदावधि सकिन एक महिनाभन्दा कम समय बाँकी रहेका प्रधानाध्यापक पदमा पदपूर्ति गर्न महानगरपालिकाले योग्य स्थायी शिक्षकबाट दरखास्त माग गरेको हो ।
योग्यता पुगेका इच्छुक स्थायी शिक्षकले २०८३ भदौ १६ गतेभित्र आवश्यक कागजात र विद्यालय विकास प्रस्तावसहित सम्बन्धित विद्यालयमा दरखास्त पेस गर्नुपर्नेछ ।
प्रधानाध्यापक पदका लागि आवश्यक न्यूनतम शैक्षिक योग्यता, उम्मेदवारीको प्राथमिकता, छनोट प्रक्रिया, विद्यालयको विवरण तथा दरखास्त फारामको ढाँचा काठमाडौँ महानगरपालिकाको आधिकारिक वेबसाइट वा शिक्षा विभागबाट प्राप्त गर्न सकिने महानगरपालिकाले जनाएको छ ।