काठमाडौं । लगानी बोर्डले ऊर्जा क्षेत्रका चार वटा आयोजनाका लागि लगानी स्वीकृत गरेको छ ।
लगानी बोर्डका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा आज बिहीबार बसेको बोर्डको ५७औँ बैठकले विभिन्न चार वटा आयोजनाका लागि ९९ अर्ब २० करोड रुपैयाँ बराबरको लगानी प्रतिवद्धता स्वीकृत गरेको हो ।
बैठकले १६६ मेगावाट क्षमताको सुपर तमोर आयोजनाका लागि ३४ अर्ब ५९ करोड, ४२ मेगावाट क्षमताको अपर मोदी–ए आयोजनाका लागि १० अर्ब आठ करोड, २५० मेगावाट क्षमताको सौर्य ऊर्जा कोहलपुर तथा बाणगंगा (राइजेन इनर्जी सिङ्गापुर) का लागि २१ अर्ब १० करोड र १३९ दशमलव २ मेगावाट क्षमताको तल्लो मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजनाका लागि ३३ अर्ब ४१ करोड रुपैयाँ लगानी स्वीकृत गरेको छ ।
बोर्डका अनुसार सौर्य ऊर्जा परियोजना र तल्लो मनाङ मर्स्याङ्दी आयोजनामा विदेशी लगानी स्वीकृत भएको हो । यसैगरी, ह्वासिन सिमेन्ट नारायणी परियोजनाको लाख ६ अर्व ६३ करोड ४० लाख रुपैयाँ थप लगानी स्वीकृत गर्नेसमेत निर्णय गरेको छ भने अपर मर्स्याङ्दी जलविद्युत् परियोजना र सौर्य ऊर्जा परियोजना कोहलपुर तथा वाणगङ्गाको परियोजना विकास सम्झौता (पीडीए) का लागि विकासकर्तासँग वार्ता गर्न लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृतको अध्यक्षतामा वार्ता समिति गठन गरेको छ ।
यी परियोजनाको आगामी लगानी सम्मेलनमा परियोजना विकास सम्झौता गर्ने तयारी रहेको प्रवक्ता उपाध्यायले जानकारी दिए ।
