काठमाडौं । बैंक तथा वित्तीय संस्थामा कर्जाको ब्याजदर कम हुँदै गएपछि र सरकारले कित्ताकाट खुला गरेसँगै घरजग्गा कारोबार फस्टाउन थालेको छ ।
कोरोना महामारीका कारण शिथिल भएको अर्थतन्त्र घरजग्गा कारोबारमा कडाइ गरेपछि झनै मन्दीमा पुगेको अवस्थामा पुनः घरजग्गाको कारोबार बढेसँगै माथि उकासिने अपेक्षा गर्न थालिएको छ ।
विदेशी मुद्राको सञ्चिति बढेसँगै रेमिट्यान्स र राजस्व पनि बढेपछि घरजग्गा व्यवसायीहरू कारोबार बढ्ने आशामा हौसिन थालेका छन् । गैरआवासीय नेपाली नागरिकतासमेत वितरण गर्न थालिएपछि घरजग्गा कारोबार मंसिरपछि बढ्ने अपेक्षा गरिएको छ ।
यही सिलसिलाअन्तर्गत गत असोजमा घरजग्गा कारोबार र कित्ताकाट उल्लेख्य रूपमा बढेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालू आवको असोजमा घरजग्गा कारोबार ४६ दशमलव ७६ प्रतिशतले बढेको छ । कारोबार बढेपछि सरकारको राजस्वसमेत ३७ दशमलव १२ प्रतिशतले बढेको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार कित्ताकाट पनि अघिल्लो वर्षको असोजको तुलनामा ८१ दशमलव ९७ प्रतिशतले बढेको छ ।
गत वर्षको मंसिरबाट मात्र जग्गा वर्गीकरणका कारण कारोबार शिथिल भएकामा यस वर्षको असोजमा गत वर्षभन्दा बढी कारोबार देखिएको हो । पर्यटन व्यवसायसमेत फस्टाउन थालेको र राजस्व वृद्धिको ‘ट्रेन्ड’ देखापर्दै जान थालेपछि जेठयता लगातार घटेको घरजग्गाको किनबेच पनि असोज महिनामा सुधारतिर गएको देखिएको आजको राजधानी दैनिकमा समाचार छ
FACEBOOK COMMENTS