काठमाडौं । केही दिनदेखिको वर्षासँगै आएको पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्ग तथा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन् ।
आज बिहानको पहिरोका कारण ललितपुर बागमती गाउँपालिका– ३ पाङ्दुरस्थित कान्तिलोकपथ, प्युठान सरुमारानी गाउँपालिका– ४ खहरे खोलास्थित भालुवाङ–प्युठान सडकखण्ड, मकवानुर भीमफेदी गाउँपालिका– ८ भर्याङडाँडास्थित कान्ति लोकपथ सडकखण्ड तथा लमजुङ मध्यनेपाल नगरपालिका– १० बिमिरे भञ्ज्याङस्थित मध्यपहाडी लोकमार्ग पूर्ण रूपमा अवरोध भएका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले जानकारी दिए ।
उनले भने, ‘आज बिहान खसेको पहिरोका कारण विभिन्न राजमार्ग र सडकखण्ड पूर्ण रूपमा अवरोध भएका छन् । यही वैशाख १६ गतेको पहिरोका कारण सिन्धुपाल्चोक भोटेकोसी– २ कोदारीस्थित अरनिको राजमार्गमा पूर्ण रूपमा अवरुद्ध भएको र अहिलेसम्म सञ्चालन हुन सकेको छैन ।’
यही १२ वैशाखको बाढीका कारण अवरुद्ध भएका भोजपुर नगरपालिका– ५ बोखिमको मध्यपहाडी लोकमार्ग तथा १६ वैशाखको पहिराले म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ३ जलथलेस्थित बेनी–जोमसोम सडकखण्ड भने एकतर्फी रूपमा सञ्चालनमा आएका प्रहरीले जनाएको छ ।
वर्षात्को समयमा बाढी, पहिरोको जोखिम बढी हुने भएकाले अवरुद्ध भएका र एकतर्फी सञ्चालनमा आईका राजमार्गमा यात्रा गर्दा सुरक्षित एवं सावधानी तरिकाले यात्रा गर्न प्रहरीले आग्रह गरेको छ ।
