चितवन । शनिबारको बिहान सहिदपत्नी सुनिता राईको लागि विशेष बन्यो । छोरीको शिक्षाको दायित्व बहन गरेको गोल्याण ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक अक्षय गोल्याण एकाबिहानै उनको भरतपुर–११, बसेनीस्थित निवासमा पुगे ।
“छोरीलाई बधाई दिन आएको,” अक्षयले कारण खोतल्दै भने, “उहाँ (सहिद सारकुमार) ले छोडेर गएको सपना पूरा गर्न हाम्रो पूरापर साथ छ, त्यसैले खुसी साँट्न हामी यहीँ आएका हौँ ।”
गोल्याण समूहले अहिले सुनिता–सारकुमारकी छोरी आकृतीसहित ३२ जना जेनजी आन्दोलनका सहिदका सन्तानहरुलाई पढाइरहेको छ । उनीहरुको शिक्षामा जनही मासिक ४० हजारको दरले वार्षिक चार लाख ८० हजार रुपैयाँ शैक्षिक–खर्च व्यहोर्छ । गोल्याणबाट शैक्षिकवृत्ति पाएकामध्ये यसपटक सुनिता र स्वर्गीय सारकुमारकी १५ वर्षीया छोरी आकृती एसईई उत्तीर्ण गर्ने पहिलो सहिद–सन्तान हुन् । उनले चितवनको मनशिक्षा मन्दिर आवासीय माध्यमिक विद्यालयबाट २०८२ को एसईई ३.४० जीपीए ल्याएर उत्तीर्ण गरिन् ।
आकृतीले एसईईमा प्राप्त गरेको उपलब्धीलाई विशेष भन्दै गोल्याण ग्रुपका प्रतिनिधि बधाई व्यक्त गर्न उनको घरमै पुगेका थिए ।
“तपाईँहरु यसरी घरमै आउनुहोला भन्ने त मैले सोचेको पनि थिइँन,” सुनिताले भनिन्, “मलाई साँच्चिकै हाम्रो लागि कोही न कोही त रहेछ भन्ने लागेको छ ।”

गोल्याण ग्रुपसँगको सहिद परिवारको सम्बन्ध निकै घतलाग्दो छ । सारकुमारको सपना छोरी आकृतीसँग जोडिएको थियो । छोरीलाई राम्रो शिक्षा दिने, उनले चाहेको विषय पढाउने । छोरीको सपना पूरा गर्नका लागि उनी काठमाडौंमा बसेर पेन्टरको काम गर्थे ।

आकृती भने आमा सुनितासँग चितवनमै बसेर पढ्थिन् । २०८२ भदौ २३–२४ को जेनजी आन्दोलनमा सारकुमार सहिद बने । यसले आकृतीको सपनामाथि बज्र प्रहार भयो ।
पतिवियोगमा रहेकी सुनितालाई सबैभन्दा ठूलो चिन्ता भयो– अब छोरीलाई कसरी पढाउने ? सारकुमारको सहादतसँगै सुनिताको सहारा गुमेको थियो भने आकृतीको सपना टुहुरो भएको थियो ।


यस्तैमा २०८२ असोज अन्तिम साता गोल्याण ग्रुपले सहिदका सन्तानहरुलाई १२ कक्षासम्म पढाउने घोषणा गर्यो । दु:खका बेला गरिने यस्ता घोषणा र प्रतिवद्धताहरु केबल सहानुभूतिमै सीमित हुन्छन् । सुनितालाई पनि सुरुमा त्यस्तै लाग्यो । गोल्याण ग्रुपको घोषणालाई खासै वास्ता गरिनन् । तर, जब गोल्याणले एक सातामै प्रतिवद्धता पूरा गर्नको लागि उनीसँग लिखित सम्झौता गर्यो, तब सुनिताले राहतको सास फेरिन् ।

आकृतीले उत्कृष्ट अंकसहित एसईई उत्तीर्ण गरेपछि उनको परिवारमात्र होइन, सहयोगी गोल्याण ग्रुप र अध्ययनरत विद्यालय पनि खुसी भएका छन् ।
“आकृतीले राम्रो अंक ल्याएर एसईई उत्तीर्ण गरिन्, यसले हामीलाई पनि खुसी तुल्याएको छ,” गोल्याण ग्रुपका कर्पोरेट अफेयर्स, कम्युनिकेशन्स एण्ड पीआर प्रमुख ज्योति गैह्रेले भनिन्, “जेनजी सहिदका सन्तानमध्येबाट पहिलो एसईई उत्तीर्ण हुनु समग्र राष्ट्रको लागि पनि गौरवको क्षण हो ।”
आकृतीले कक्षा ८ देखि १० सम्म अध्ययन गरेको मनशिक्षा मन्दिरका प्रधानाध्यापक इन्द्रेश शाहले उनी पढाइमा तीक्ष्ण हुनुका साथै निकै लगनीशल र अनुशासित छात्रा रहेको बताए ।

“यो घटना नभइदिएको भए उनले एसईईमा अझ राम्रो अंक ल्याउने हाम्रो अपेक्षा थियो, तैपनि राम्रो नम्बर ल्याएर पास भइन्,” उनले भने ।
आकृतीले कक्षा प्लस–टुमा विज्ञान संकाय पढ्ने निर्णय गरेकी छन् । उनी चितवनकै आरोमा इंलिस सेकेन्डरी स्कुलमा भर्नासमेत भइसकेकी छन् ।
विज्ञान संकाय पढेर नर्सिङमा स्नातक गर्ने उनको सपना छ । उनका बुवाको सपना पनि यही थियो ।
उनी प्लस–टु अध्ययन गर्ने विद्यालयका प्रधानाध्यापक शेरबहादुर क्षेत्रीले गोल्याण ग्रुपको अभिभावकीय भूमिकाको प्रशंसा गर्दै आकृतीलाई गुणस्तरीय शिक्षा प्रदान गर्न विशेष ख्याल गर्ने बताए ।
“आकृतीजस्तो मेधावी विद्यार्थी हाम्रो विद्यालयमा आउनु निकै खुसीको कुरा हो, उनको कारणले गोल्याण ग्रुपजस्तो प्रतिष्ठित संस्थासँग हाम्रो सम्बन्ध पनि जोडिएको छ,” उनले भने, “अब हामी सबै मिलेर सहिदका सन्तानको सपना पूरा गर्नुपर्छ ।”