काठमाडौं । मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसीए) नेपालले विद्युत् प्रसारण लाइन निर्माण ठेक्का आह्वान गरेको छ ।
अमेरिकी वैदेशिक सहायता एजेन्सी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बाट प्राप्त अनुदान र नेपाल सरकारको संयुक्त लगानीमा प्रसारणलाइन निर्माण परियोजना तीन चरणमा अघि बढाउनेगरी ठेक्का आह्वान भएको हो ।
परियोजना थाल्न एमसीएले सोमबार लप्सीफेदी–रातमाटे–बुटवल प्रसारणलाइन निर्माणका लागि तीन चरणमा ठेक्का निकालेको छ । लप्सीफेदी–रातमाटे–न्यु हेटौंडा पहिलो चरण (११७ किमि), दोस्रो चरण रातमाटे–न्यु दमौली (९० किमि) र तेस्रो चरणमा न्यु दमौली–न्यु बुटवल, न्यु बुटवलबाट भारतीय सीमासम्म (१०८ किमि) गरी कुल ३ सय १५ किलोमिटर छन् ।
इच्छुक कम्पनीले १३ चैत २०७९ ९२७ मार्च०सम्म आवेदन दिन सक्नेछन् । ठेक्का पाउने कम्पनीले डिजाइन, सप्लाई, डेलिभरी, इन्स्टलेसन, टेस्टिङ, कमिसनिङ गर्नुपर्नेहुन्छ । आयोजना सम्भाव्यता अध्ययन प्रतिवेदन भने एमसीसी–नेपालले उपलब्ध गराउने भएको छ । एमसिए–नेपालका सूचना आधिकारी राजीव दाहालले प्रसारणलाइन निर्माण ठेक्का सम्झौता भएको पाँच वर्षमा पूरा गरिसक्नुपर्ने जानकारी दिए ।
उनका अनुसार सन् २०२३ को अगस्ट (२०८० भदौ)बाट निर्माण सुरु गरी परियोजनाका सबै काम २०२८ अगस्ट (२०८५ भदौ)भित्र सम्पन्न गर्नुपर्नेछ । यदि समयमै परियोजना सम्पन्न हुन नसके र म्याद नाघे एमसीसीले रकम फिर्ता लिनेछ ।
त्यसपछि नेपाल सरकारले आफ्नो लगानीबाट परियोजना सम्पन्न गर्नुपर्ने हुन्छ । यसकारण पनि आयोजना समयमै सम्पन्न हुनुपर्ने दाहालको जोड छ । अन्तर्राष्ट्रिय रूपमा आह्वान गरिएको ठेक्काको अनुमानित लागत ३० अर्ब र ‘ बिड’ लागत २० अर्ब राखिएको एमसीए सूचना अधिकारी दाहाल बताउँछन् । ठूलो परियोजना भएकाले बढीमा तीन कम्पनी र घटीमा दुई कम्पनीसँग ठेक्का सम्झौता गरिने आजको राजधानी दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS