काठमाडौँ । भारतको मेघालयको पूर्वी जयन्तिया हिल्स जिल्लामा रहेको अवैध कोइला खानीमा भएको विस्फोटमा मृत्यु हुनेको संख्या २५ पुगेको छ ।
उद्धार टोलीले अपरेशनको क्रममा खानीबाट थप चार शव निकालेको छ । थाङ्स्को क्षेत्रको मिन्सिङगाटमा भएको खानी घटनाको सम्बन्धमा आज खोजी र उद्धार कार्य जारी रहेको बताइएको छ ।
मेघालयको उम्प्लेङ क्षेत्रको अवैध कोइला खानीमा बिहीबार बिहान शंकास्पद डायनामाइट विस्फोट भएको थियो । रिपोर्टका अनुसार त्यहाँ धेरै कामदारहरू काम गरिरहेका थिए ।
यस घटनामा अहिलेसम्म मृत्यु हुनेको कुल संख्या २५ पुगेको छ । अहिलेसम्म बरामद गरिएका शवहरूमध्ये १७ जनाको पहिचान गरी सबै आवश्यक कानुनी औपचारिकता पूरा गरेपछि आफन्तहरूलाई हस्तान्तरण गरिएको स्थानीय प्रहरीले जनाएको छ ।
घटनाको सम्बन्धमा ख्लीह्रियत प्रहरी चौकीमा एफआईआर दर्ता गरिएको छ । प्रहरीले पक्राउ गरेका दुई खानी मालिकहरूलाई फोर्मे चिरमाङ र शमेही वारको रूपमा पहिचान गरिएको छ । राष्ट्रिय विपद् प्रतिक्रिया बल, राज्य विपद् प्रतिक्रिया बल, र एक विशेष उद्धार इकाईका टोलीहरूले घटनास्थलमा उद्धार र खोजी कार्य गरिरहेको बताइएको छ ।

FACEBOOK COMMENTS