काठमाडौँ । संघीय संसद् सचिवालयले प्रतिनिधि सभाका सदस्यहरूका लागि संसदीय प्रक्रिया, अभ्यास तथा नियमसम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ।
सचिवालयका अनुसार संसद् भवनस्थित सभाहलमा सुरु भएको उक्त प्रशिक्षण कार्यक्रम भोलिसम्म सञ्चालन हुनेछ।
संसदीय प्रशिक्षण शाखाको संयोजनमा आयोजित कार्यक्रममा संसदीय कार्यसम्पादनका क्रममा अपनाइने प्रक्रिया, अभ्यास तथा नियमसम्बन्धी विषयमा सांसदहरूलाई जानकारी प्रदान गरिनेछ।
विशेष गरी नवनिर्वाचित सांसदहरूमा संसदीय कार्यप्रणाली र नियमसम्बन्धी पर्याप्त जानकारीको अभाव देखिएको तथा त्यसको प्रभाव सदनको कार्यसम्पादनमा परेको भन्ने सार्वजनिक टिप्पणी भइरहेका बेला संघीय संसद् सचिवालयले क्षमता अभिवृद्धिको उद्देश्यसहित उक्त प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको जनाएको छ।
