काठमाडौं । अमेरिकाको न्यूयोर्कको एक मेडिकल सेन्टरमा एमआरआई मेसिनमा तानिएर ६१ वर्षीय एक पुरुषको मृत्यु भएको छ ।
ती पुरुषले हेभी मेटल चेन लगाएर मेसिनको नजिक गएका थिए । मेसिनले चुम्बकीय बलका कारण पुरुषलाई तानेको बताइएको छ । स्थानीय प्रहरीले नासाउ ओपन एमआरआई सेन्टरमा घटना भएको बताएको छ ।
प्रहरीका अनुसार, त्यो पुरुष अनुमति बिना सक्रिय एमआरआई कोठामा प्रवेश गरेका थिए । ति पुरुषकी श्रीमतीले स्थानीय मिडियालाई उनी आफ्नो स्क्यान गर्न एमआरआई कोठामा गएको र स्क्यान पछि, उनले आफ्नो पतिलाई भित्र बोलाएको बताएकी छन् । तर उनी कोठामा प्रवेश गर्ने बित्तिकै, उनको घाँटीमा रहेको धातुको चेन मेसिनतिर तानियो र उनलाई जबरजस्ती तानिएको उनले बताइन ।
एमआरआई मेसिनहरूले अत्यन्त शक्तिशाली चुम्बकीय क्षेत्रहरू प्रयोग गरेर शरीरको भित्री भागको विस्तृत छविहरू सिर्जना गर्छन् । बिरामीहरूलाई सामान्यतया स्क्यान गर्नु अघि सबै धातुका वस्तुहरू हटाउन र लुगा परिवर्तन गर्न भनिएको हुन्छ ।
यस मुद्दाको अनुसन्धान गर्ने नासाउ काउन्टी प्रहरी विभागले भनेको छ, ‘ती पुरुषले आफ्नो घाँटीमा हेभी मेटलको चेन लगाएका थिए, जसका कारण उनलाई एमआरआई मेसिनतिर तानियो र पछि उनको मृत्यु भयो ।’
प्रहरीले ती पुरुषको परिचय सार्वजनिक गरेको छैन ।
श्रीमतीले आफ्नो घुँडाको एमआरआई स्क्यान गरिरहेको स्क्यान पछि उठ्न मद्दत गर्न उनले आफ्नो पतिलाई भित्र बोलाएको बताएकी छन् । उनले उनका पतिले लगभग ९ किलोग्राम तौलको भारी चेन लगाएको पनि बताएकी छन् ।
अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडीए) का अनुसार, एमआरआई मेसिनहरूमा चुम्बकीय क्षेत्रहरू हुन्छन्, जसले कुनै पनि आकारको धातुका वस्तुहरूलाई आकर्षित गर्न सक्छन् । यसमा चाबीहरू, मोबाइल फोनहरू, अक्सिजन ट्याङ्कीहरू पनि समावेश छन् ।
यस अघि २००१ मा, न्यूयोर्क शहरको एक मेडिकल सेन्टरमा एमआरआईको चुम्बकीय बलको कारण अक्सिजन ट्याङ्की हावामा उडेर टाउकोमा ठोक्किएर गम्भीर चोटपटक लागेपछि छ वर्षको बच्चाको मृत्यु भएको थियो ।
FACEBOOK COMMENTS