काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडका ग्राहकले पोखरास्थित बरपिपल रिसोर्टमा विभिन्न सेवा तथा सुविधामा विशेष छुट पाउने भएका छन् ।
बैंकले आफ्ना ग्राहकलाई थप सेवा तथा सुविधा उपलब्ध गराउने उद्देश्यले बरपिपल रिसोर्ट पोखरासँग छुटसम्बन्धी व्यावसायिक सम्झौता गरेको हो । सम्झौताअनुसार बैंकका ग्राहकले रिसोर्टमा खाना, आवास तथा स्पामा १० देखि २० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।
त्यस्तै, ६ जनाभन्दा बढीको समूहमा बुकिङ गर्दा एक जनाका लागि आवाससहित ब्रेकफास्ट र लन्च डिनर नि:शुल्क उपलब्ध गराइने बैंकले जनाएको छ ।
उक्त छुट तथा सुविधा लिन बैंकका ग्राहकले मुक्तिनाथ विकास बैंकको मान्य डेबिट कार्ड वा प्रिभिलेज कार्ड प्रस्तुत गर्नुपर्नेछ । साथै, बैंकको मोबाइल बैंकिङमार्फत भुक्तानी गर्ने ग्राहकले पनि उक्त सुविधा प्राप्त गर्न सक्नेछन् ।
यसैबीच, मुक्तिनाथ विकास बैंकले आधारदरमा शून्य प्रतिशत प्रिमियममा लगानी गर्न सकिने ‘अटो लोन ’ सञ्चालनमा ल्याएको जनाएको छ ।
मुक्तिनाथ विकास बैंकका प्रमुख सूचना अधिकारी तिल बहादुर गुरुङले बैंकले ग्राहकलाई थप सुविधा प्रदान गर्ने उद्देश्यले विभिन्न संस्थासँग सहकार्य गर्दै आएको जानकारी दिए ।