सुरेन्द्र कुमार उप्रेती
महासचिव, नाडा अटोमोबाइल एसोसिएशन अफ नेपाल
१७औँ संस्करणको नाडा अटो शोको मुख्य विषयवस्तु र उद्देश्यहरू के–के हुन् ?
नाडा अटो शोको मुख्य उद्देश्य बजार प्रवर्द्धन नै हो । नयाँ अटोमोबाइल प्रविधि र मोडलहरूको परिचय गराउने, व्यवसायी र उपभोक्ताबीचको प्रत्यक्ष संवाद गराउने, ब्राण्डको प्रवर्द्धन र बजार सुदृढ गराउने तथा पर्यटन प्रवर्द्धनमा समेत नाडा अटो शोले मद्दत पुर्याउँछ । यी सबै नाडा र नाडा अटो शोका उद्देश्यहरूभित्रै पर्दछन् । यस्तै, नाडाका सदस्यहरूको हकहितका लागि र उहाँहरूले गरिरहनुभएको व्यवसायको प्रवर्द्धन नाडाले गर्दै आएको छ । सम्पूर्ण व्यवसायलाई सहजीकरण गरेर एकै ठाउँमा ल्याएर व्यवसायसँग सम्बन्धित जति पनि बिक्रेताहरू हुनुहुन्छ उहाँहरू र क्रेताहरूलाई एउटै छानामुनि ल्याएर फेसिलेट गर्ने काम गर्ने यो शो नेपालकै ठूलो अटो शो हो ।
विगतको तुलनामा यस वर्षको नाडा अटो शोले नयाँ के–कस्ता प्रडक्टहरू दिँदै छ ?
अटो कम्पोनेन्टदेखि भेहिकल इम्पोटरसम्म रहेको यो संस्थाले आयोजना गर्ने अटो शो आफैंमा नयाँ उत्सुकताको पाटो हो । अटो कम्पोनेन्टदेखि भेहिकलसम्म लाई एउटै छानामुनि ल्याएर, नेपालमा भएको ‘मेड इन नेपाल’ अटो पार्टस्हरूलाई प्रवर्द्धन गरेर, अटो पार्टस् र एसकेडीसँग सम्बन्धित उद्योगहरूको संरक्षण गरेर र इम्पोर्ट गर्ने व्यवसायीहरूलाई आवश्यक सुरक्षा र सहजता प्रदान गर्दै आएको नाडाले गर्ने यो अटो शो नयाँ मात्र होइन पृथक र ऐतिहासिक समेत छ ।
नेपालको अटोमोटिभ उद्योगमा नवप्रवर्तन र उत्साहको नयाँ अध्यायका रूपमा १७औँ संस्करणको नाडा अटो शो आयोजना भएको छ । यो प्रदर्शनी मात्र नभएर नेपालको दिगो, स्मार्ट र भविष्यमुखी मोबिलिटीको प्रतिबिम्ब पनि हो । त्यसकारण हामीले यो शोमा सबैभन्दा नयाँ दिने उद्देश्यका साथ एअर मोबिलिटीको परिकल्पना गरी दिपल ईभीटोल यूएभी (उड्ने ट्याक्सी) र युनीट्री रोबोट्स ल्याएका छौँ । यसले नेपालमा एअर मोबिलिटीको बहस सृजना गर्नेछ र भविष्यमा हामी त्यतातर्फ उन्मुख हुने ढोका खुल्दछ । उड्ने ट्याक्सीको प्रदर्शनी दक्षिण एसियामै पहिलो हो, यसले हामीलाई थप गौरवान्वित र ऐतिहासिक तुल्याएको छ ।
‘फ्लाइङ ट्याक्सी’ र रोबोटिक्सबाहेक नाडा अटो शोका अरु आकर्षणहरू के–के छन् ?
त्यसबाहेक हाम्रो शोको मुख्य आकर्षण भनेको भिन्टेज मोटर शो हो । जहाँ हामी मोरिस माइनरदेखि टोयोटा एमआर–टूसम्मका एक दर्जन ऐतिहासिक सवारी साधनहरूलाई प्रदर्शन गर्दैछौँ । ईभी, स्मार्ट मोबिलिटी र दिगोपनमा केन्द्रित रहेर विभिन्न सेमिनार, कार्याशाला र अन्तरक्रिया कार्यक्रमहरू पनि सञ्चालन गर्छौँ ।
नाडा अटो शोमा कति स्टल र प्रदर्शनकर्ता रहने छन् ? दर्शकहरू कति अपेक्षा गर्नुभएको छ ?
मैले अगाडि उल्लेख गरेकोबाहेक यो शोमा १९ वटा चारपाङ्ग्रे, १३ वटा हल्का व्यावसायिक सवारी साधन, चार वटा दुईपाङ्ग्रे सवारी साधनको स्टल रहने छन् । यस्तै, अटो कम्पोनेन्टतर्फ ल्युब्रिकेन्ट, टायर, ब्याट्री तथा ग्यारेज र वर्कशप उपकरण अनि बैंक तथा वित्तीय संस्थाहरूका ३५ वटासहित कूल १२५ भन्दा बढी प्रदर्शकहरू यो शोमा सहभागी छन् । साथै, नेपालमै उत्पादन भएका सवारी साधन र पाटर््सहरूको प्रदर्शनीका लागि ‘मेड इन नेपाल प्याभिलियन’ र अन्तर्राष्ट्रिय लगानी र सहकार्य प्रवर्द्धन गर्ने उद्देश्यका साथ ‘इन्टरनेशनल बिजनेश प्याभिलियन’ पनि राखिएका छन् । ६ दिनसम्म सञ्चालन हुने शोमा एक लाख भन्दा बढीले अवलोकन गर्ने लक्ष्य लिएका छौँ ।
प्रदर्शक र अवलोकनकर्ताहरूका लागि सुविधा र सुरक्षाका बारेमा के–कस्ता व्यवस्था गरिएका छन् ?
हामीले चारपाङ्ग्रे, दुईपाङ्ग्रे, व्यावसायिक सवारी, अटो पाटर््स र बैंक तथा वित्तीय संस्थाहरूका लागि सुविधाजनक जोन निर्माण गरेका छौँ । खल्ती बाइ आईएमईमार्फत अग्रिम टिकट बुकिङ तथा फिजिकल टिक लिने व्यवस्था, सञ्चारकर्मीहरूका लागि छुट्टै मिडिया डेस्क, प्रहरीसँगको सहकार्यमा ट्राफिक सूचना केन्द्र तथा सम्भावित आपत्कालीन अवस्थालाई दृष्टिगतत गरी स्वास्थ्य टोली, सुरक्षा निगरानी र आगो नियन्त्रकलाई तयारी अवस्थामा राखने प्रबन्ध गरेका छौँ । पार्किङको सन्दर्भमा नाडाको कुनै पनि शोमा अवलोकनकर्ता र ग्राहकले झन्झट व्यहोर्नुपरेको छैन त्यसैअनुसार व्यवस्थापन गरिएको छ ।
ईभी र आईसीई गाडीको हिस्सा कति–कति रहने छन् ?
नाडा अटो शोमा यसलाई बढी वा अर्कोलाई कम अवसर दिने भन्ने हुँदैन । बजारले खोजेको र मागेको वस्तु तथा सेवाहरूलाई आवश्यकता अनुसार प्रदर्शन तथा बिक्री गर्ने हो । ग्राहकको चाहना अनुसारको प्रडक्टहरूलाई प्रवर्द्धन गर्नु अटो शोको धर्म नै हो । किनभने कतिपय चिजलाई ईभीले र कतिपय चिजलाई आईसीईले विस्थापित गर्न सक्ने स्थिति छैन । ती चिज जो दीर्घकालीन हुन्छन् तिनको सुरक्षा, संरक्षण र प्रवर्द्धन त जहिल्यै हामीले गर्न परिहाल्यो । समय र परिस्थिति अनुसार जुन खालको मोबिलिटी चल्दै जान्छ त्यलाई हामीले अङ्गाल्दै जानुपर्छ, अरु विकल्प हुँदैन ।
केकस्ता ब्राण्डले सहभागिता जनाउँदैछन् र ती कुन् कुन् हुन् ?
नाडा अटो शोमा अटो पार्ट्स र अटो कम्पोनेन्टबाहेक चारपाङ्ग्रे, दुईपाङ्ग्रे र व्यावसायिक सवारी साधनका तीन दर्जन ब्राण्ड सहभागी छन् । जस्तो अवतार, दिपल, सुजुकी, टाटा, रिद्दारा, डोङफेङ नामी, फोटोन, एक्सपेङ, आयोन, बीआईडी, स्काइवेल, सेरेस, जेवाई एअर एण्ड बीएडब्ल्यू, टेस्ला, एलएस अटो, जिनपेङ, बीएलएभीएएल र इसुजु छन् । यस्तै, सुनलङ, स्काइवर्थ, डीएफएसके, विलिङ, सोकोन, कमा, किङलोङ, डोङफेङ, न्यू गोनाउ, क्वेई/नभ्को पनि अटो शोमा सहभागी छन् । यसैगरी, यामाहा, हिरो, जोनसोन र रोयल इन्फिल्ड पनि यो शोमा सहभागी छन् । यीबाहेक झण्डै चार दर्जन अटो पार्ट्स र अटो कम्पोनेन्टको स्टल रहेका छन् । हाम्रो टिकेटिङ पार्टनरसमेत रहेको फिनटेक कम्पनी खल्ती बाइ आईएमईसहित करिब एक दर्जन बैंक तथा वित्तीय संस्थाहरूले पनि यो वर्षको नाडा अटो शोमा सहभागिता जनाएका छन् ।
भर्खरै सकिएको नाइमा मोबिलिटी एक्स्पोमा छुट मूल्यको अस्वस्थ प्रतिस्पर्धा देखियो । त्यसलाई नाडाले पनि पछ्याउँछ ?
मूल्यका विषयमा हामीले केही भन्न मिल्दैन । किनभने त्यो व्यवसायी साथीहरूको व्यक्तिगत कुरा पनि हो । आफ्नो मार्जिन घटाएर उपभोक्तालाई सहुलियन दिनु नराम्रो कुरा होइन । तर, नाडाले मूल्यसँग भन्दा ग्राहकसँगको विश्वास र प्रडक्टको दिगोपनासँग विश्वास राख्छ । उपभोक्ताले पनि सस्तो मात्र होइन राम्रै नै खोजिरहनुभएको हुन्छ । त्यसकारण हामी मूल्यमा जाँदैनौँ ।
मूल्यमा जानुभएन भने नाडा अटो शोको व्यावसायिक उद्देश्य पूरा गर्न सक्नुहुन्छ त ?
कुनै चिज १०० रुपैयाँ राखेर ५० रुपैयाँमा बेच्नु मूल्य होइन क्या । त्यो चिजलाई पहिला नै ५१ रुपैयाँ राखेर ५० रुपैयाँमा बेचे भइगयो नि । वा ५० रुपैयाँको चिजलाई ४९ रुपैयाँ गर्न सक्दा ग्राहकले बढी सुविधा पाउनुहुन्थ्यो कि ? १०० रुपैयाँलाई नै मानेर ५० रुपैयाँमा दिँदा बढी खुसी हुने हो त ? त्यसकारण मैले हामी मूल्यलाई हेर्दैनौँ भनेको ।
भनेपछि उपभोक्ता खुसी पार्ने नाममा व्यवसायी आफैं नाङ्गिए कि क्या हो ?
यसबारेमा हामी केही भन्न सक्दैनौँ ।
अन्तिममा केही थप गर्न चाहानुहुन्छ कि ?
नाडा अटो शो नेपालभरिका एक मात्र अटोमोबाइल शो हो । जो सम्पूर्ण अटोमोबाइल व्यवसायीहरूलाई समेटेर विगत ५० वर्षको स्वर्णिम लिगेसी लिएको नेपालको सातवटै प्रदेशमा रहेको संरचना भएको करिब तीन हजार सदस्य रहेको, अटो पार्ट्स, अटो कम्पोनेन्ट र नेपालको रहेका म्यानुफ्याक्चरिङलाई पनि समेटेर अघि बढिरहेको सबैको साझा संस्था नाडा हो ।
नाडा भनेको तपाइँ हाम्रो हो, यो संस्थाले गरेको सबै भन्दा ठूलो अटो शोमा आइदिनुहोस्, हामीले गरेका राम्रा नराम्रा कामको मूल्याङ्न गरिदिनुहोस् केही कमजोरी भएका छन् भने आगामी दिनमा सुधारेर सच्याएर अघि बढ्न चाहान्छौँ । एक पटक आएर सबैले अवलोकन गरिदिनुहोस् यही अनुरोध छ ।
यो पनि–
सम्पादकीय : नेपालको अटोमोबाइल क्षेत्रमा नाडा अटो शो, २०८२ ले ल्यायो नयाँ आयाम
FACEBOOK COMMENTS