निशान ढकाल
कार्यकारी निर्देशक, आईएमई मोटर्स प्रालि
कार्यसमिति सदस्य, नाडा अटोमोबाइल्स एसोसिएशन अफ नेपाल
आईएमई मोटर्सले कमर्सियल भेहिकलहरू विक्रीवितरण गर्दै आएको छ । तर, मुलुकमा विद्यमान आर्थिक समस्याका कारण पछिल्लो समय कमर्सियल भेहिकलको बिक्री अत्यन्तै न्यून छ । त्यसकारण यो नाडा अटो शोमा आईएमई मोटर्सको तर्फबाट सामान्य उपस्थिति मात्रै रहनेछ । हामीसँग भएका लुब्रिकेन्टलगायत अन्य वस्तुको डिस्प्लेका लागि मात्रै हामीले नाडामा सहभागिता जनाएका छौँ ।
जुन देशमा गए पनि अटो शो भनेको ब्राण्ड भिजिबिलिटीका लागि हो । त्यहाँ प्रडक्ट डिस्प्ले गर्नेदेखि मूल्य निर्धारणलगायत गतिविधि हुने गर्दछन् । जस्तोः छिमेकी देश भारतमै पनि प्रडक्टमा ल्याइने स्किमहरू भन्दा पनि डिस्प्ले र अरु कुरालाई फोकस गरेको पाइन्छ । त्यसकारण नाडा अटो शोबाट पनि अहिले आइरहेका नयाँ–नयाँ ईभीहरूले आ–आफ्नो ब्राण्ड ‘भिजिबिलिटी’ बढाउन उत्साहित छन् ।
आईएमई मोटर्सले पनि यसैभित्र ईभीका केही सिरिजहरू ल्याउने तयारी गरिरहेको छ । कस्तो ईभी आउँछ भन्नेबारे सम्बन्धित कम्पनीसँग सम्झौता भइसकेपछि सार्वजनिक गर्नेछौँ । नेपालमा ईभीको मार्केट ‘एक्सप्लान’ गर्न सरकारले स्थायी नीति लिन जरुरी छ ।
जनतासँग पैसा भइदिएको भए र नेपाल राष्ट्र बैंकको मौद्रिक नीतिले अटो क्षेत्रमा केही लचिलो नीति लिन सकेको भए यो नाडा अटो शोको आकर्षण निकै उच्च हुने थियो । यद्यपि, बजार बढ्ने क्रममा रहेको छ । यसलाई अझ छिटो वृद्धि गराउन मौद्रिक नीतिमा लचिलो नीति आउने अपेक्षा गरेका थियौँ, तर त्यसो हुन सकेन । त्यसैले दौडिनपर्ने यो क्षेत्र अहिले हिँडिरहेको स्थिति छ । पर्याप्त गाडी नचल्दा स्पेयर पार्टसदेखि लुब्रिकेन्टसम्मको बजार खस्किएको छ । उहाँहरूमा पनि नाडा अटो शोको उत्साह कम रहेको मैले पाएको छु । त्यसकारण राष्ट्र बैंकले मौद्रिक नीतिमा समेट्न नसकेको नीतिलाई नाडाले ‘लविङ’मार्फत समावेश गराउन सक्ने हो भने अटो क्षेत्रको बजार माथि उठाउन सकिन्छ ।
निर्माण व्यवसायीहरू भनेको देश निर्माणको आधारस्तम्भ हुन्, सरकारले उनीहरूकै अरबौं रूपैयाँ पैसा दिन सकेको छैन । यदि त्यो पैसा ‘रिलिज्ड’ हुने हो भने एकातर्फ भौतिक पूर्वाधार निर्माणले गति लिन्छ भने त्यसको प्रभावस्वरूप अटो इन्डष्ट्री चलायमान बन्छ । त्यसले सरकार स्वयम्लाई पनि निकै फाइदा पुग्छ ।
समग्रमा अटोमोबाइल व्यवसायीहरूका लागि नाडा अटो शो एउटा पर्व वा उत्सवको रूपमा स्थापित छ । यही भदौ ११ देखि १६ गतेसम्म भृकुटीमण्डपमा हुने यो शो नेपालीहरूको महान पर्व दसैं तथा तिहारको पूर्वसन्ध्या समेत भएकाले सम्पूर्णले आएर भ्रमण गरिदिनुहोला । कमर्सियल भेहिकलको बजार खस्किए पनि प्यासेन्जर र त्यसमा पनि ईभीको बजार अहिले राम्रो छ । यो शोमा ईभीका नयाँ–नयाँ ब्राण्ड तथा दुई र चार पांग्रेका थुप्रै भेरियन्टहरूको प्रदर्शनी रहेका छन् । त्यसबाट आम अटोप्रेमीहरूले मनग्गे फाइदा लिन सक्नुहुने छ । अटोमोबाइल विलासी होइन, अत्यावश्यक बनिसकेको छ । यसको मर्म बुझेर राज्यले यो क्षेत्रलाई सर्पोट गर्न जरुरी छ । थप पढ्न यहाँ क्लिक गर्नुहोस्–
भिडिओ हेर्नुहोस्–
FACEBOOK COMMENTS